माघ २३,बालकोट।भक्तपुर-२ को चुनावी मैदान यसपटक निकै ‘हट’ छ।नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतका लागि यो क्षेत्र आफ्नो गुमेको विरासत फर्काउने दाउ हो भने अन्य दलका लागि वर्चस्व कायम गर्ने वा भत्काउने चुनौती।
भक्तपुर-२ मा अहिलेको चुनावी दृश्य हेर्दा त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिन्छ। यसपटक यहाँ कुल ३२ जना उम्मेदवार मैदानमा छन्। तर, मुख्य चर्चा र प्रतिस्पर्धा भने तीन कोणमा केन्द्रित छ:
महेश बस्नेत (एमाले): ‘कमब्याक’ गर्ने दाउमा।
राजीव खत्री (रास्वपा): ‘नयाँ तरंग’ ल्याउने प्रयत्नमा।
कविर राणा (नेपाली कांग्रेस): आफ्नो विरासत जोगाउने संघर्षमा।
तर,पनि महेश बस्नेत र राजीव खत्री बीचको प्रतिस्पर्धाको चर्चा भने अहिले भक्तपुरमा मात्र नभई राष्ट्रियरुपमै छ।
महेश बस्नेत (नेकपा एमाले): पार्टी सचिव र पूर्वमन्त्री। उनको बलियो पक्ष भनेकै आफ्नो कार्यकालमा गरेको पूर्वाधार विकास र एमालेको ‘क्याडर बेस’ भोट हो।
बस्नेतका लागि यो चुनाव आफ्नो शक्ति प्रमाणित गर्ने अन्तिम मौका जस्तै हो। यदि एमालेको भोट बाँडिएन भने उनी अझै पनि बलियो छन्। बस्नेतले आफ्नो ‘डेभलपमेन्ट कार्ड’ मार्फत मौन मतदातालाई लोभ्याउन सकेमा थोरै मतान्तरले उनी अघि बढ्न सक्छन्।
विकासको एजेन्डा:
सडक, ढल र पूर्वाधार विकासमा उनले गरेको कामलाई स्थानीयले अझै सम्झन्छन्। रास्वपा,कांग्रेस, एकीकृत समाजवादी र अन्य दलहरू उनलाई हराउन एकजुट हुन सक्छन्।
एमालेको ‘क्याडर बेस’ मत भक्तपुरमा निकै अनुशासित र बलियो भएपनी उनको आक्रामक छवि र शैली तथा एउटी महिलामाथी हिंसा गरेको आरोपले कतिपय मध्यमवर्गीय र तटस्थ मतदाता उनीसँग चिढिएका हुन सक्छन्।
यद्यपि,उनले युवा संघ र स्थानीय क्लबहरूमा राम्रो पकड बनाएका छन्। बस्नेत यसपटक निकै ‘फोकस्ड’ देखिन्छन्। उनले “मैले नगरे कसले गर्छ?” भन्ने शैलीमा आफ्नो विकासवादी छविलाई पुनः स्थापना गर्न खोजिरहेका छन्।
टोल-टोलमा पुगेर उनले विगतका अधुरा आयोजनाहरू पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन्। एमालेको दह्रो संगठन उनको सबैभन्दा ठूलो शक्ति हो,भने उनलाई “अहंकारी” आरोप लगाउने विपक्षी मोर्चा र नयाँ पुस्ताको “परिवर्तनको चाहना” नै उनको मुख्य अवरोध हो।
राजीव खत्री (रास्वपा): सञ्चारकर्मी र युवा छवि भएका उम्मेदवार
उनले “परिवर्तन र नयाँ नेतृत्व” को मुद्दा उठाएका छन्। विशेषगरी मध्यपुर थिमी र सूर्यविनायकका शहरी युवा र ‘तटस्थ’ मतदातामा उनको आकर्षण छ।
रवि-बालेन लहरको उच्च प्रभाव मतदान गर्ने बेलासम्मै कायम रह्यो भने काठमाडौँसँग जोडिएका भक्तपुरका वडामा ठूलो “स्विङ”आउन सक्छ।
यसले सिधै राजीव खत्रीलाई फाइदा पुर्याउँछ।करीब ६ हजार नयाँ थपिएका युवा मतदाता उनको आशाको केन्द्र हो।
विशेषगरी जेनजी आन्दोलन र त्यसबाट सिर्जित घटनाक्रम र एमालेप्रती नयाँ पुस्ता रुष्ट भएका कारण एमालेले पाउने शहरी र युवा मत रास्वपातर्फ मोडिने उच्च जोखिम छ।
पूर्व-सञ्चारकर्मी समेत रहेका राजीव खत्रीले “भक्तपुरमा नयाँ अनुहार” को नारालाई निकै आक्रामक रूपमा लगेका छन्।
उनीविरुद्ध परेको ‘स्काउट बेरुजु’ सम्बन्धी उजुरीलाई विपक्षीहरूले चुनावी हतियार बनाइरहेका छन्, यद्यपि उनले यसलाई राजनीतिक षड्यन्त्र भनेका छन्।
कविर राणा (नेपाली कांग्रेस):
कांग्रेसले दुर्लभ थापाको साटो कविर राणालाई मैदानमा उतारेको छ। उनले कांग्रेसको परम्परागत मत जोगाउने प्रयास गर्नेछन्।
यहाँ बाजी कसले मार्छ? भन्ने कुरा यी ३ बुँदाले तय गर्नेछ:
नेपाल मजदुर किसान पार्टी नेमकिपाका रमेश वैद्यले कति भोट काट्छन्, त्यसले हार-जीतको अन्तर तय गर्नेछ। प्राय: नेमकिपाले काट्ने भोटले एमाले र कांग्रेसलाई नै असर पार्छ।
भक्तपुर-२ मा करिब ९८ हजार मतदाता छन्। विगतको नतिजा र हालको माहोल हेर्दा जीतको अन्तर २ हजार देखि ५ हजार सम्म छ।
अघिल्लो निर्वाचनको समानुपातिक मत परिणाम:
नेकपा (एमाले) १८ हजार ८५९
नेपाली कांग्रेस १५ हजार ६३०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२ हजार ८३१
नेपाल मजदुर किसान पार्टी ५ हजार ५५० र
राष्ट्रिय प्रजातन्त्र पार्टी ५ हजार २८४
विश्लेषण:
बालेन शाह र रास्वपाको सहकार्य प्रभावकारी भयो भने भक्तपुरका शहरी क्षेत्र (मध्यपुर थिमी र सूर्यविनायक) का नयाँ मतदाताहरू रास्वपातर्फ ढल्किन सक्छन्। यसले महेश बस्नेत र कांग्रेस दुवैको भोट काट्नेछ।
यदि राजीव खत्रीले अघिल्लो निर्वाचनमा रास्वपाले पाएको मतलाई ५-७ हजारले मात्र बढाउन सके र कांग्रेस-एमालेका असन्तुष्ट मत तान्न सके भने उनले स्वत: बाजी मार्ने सम्भावना छ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को भक्तपुरमा आफ्नै ‘साइलेन्ट’ भोट छ। नेमकिपाले कसको भोट बढी काट्छ, त्यसले जित-हार सुनिश्चित गर्नेछ।
यदि महेश बस्नेतले आफ्नो पार्टीको कोर भोट सुरक्षित राख्दै ‘विकासको कार्ड’ प्रभावकारी रूपमा खेल्न सके भने उनी पुनरागमन गर्न सक्छन्।
अहिलेको ग्राउन्ड रियालिटी हेर्दा:
यदि महेश बस्नेतले आफ्नो पार्टीको ४०% कोर भोट जोगाउन सके भने उनी सुरक्षित देखिन्छन्। तर, राजीव खत्रीले ‘एन्टी-एमाले’ र ‘एन्टी-कांग्रेस’ भोटलाई एकमुष्ट आफ्नो पक्षमा पार्न सके भने भक्तपुरमा यसपटक ठूलो ‘अपसेट’ हुन सक्छ।
भक्तपुरका कुन वडामा कसको पकड?
भक्तपुर क्षेत्र नं. २ को वडा-गत शक्ति सन्तुलन र मतदाताको झुकाव हेर्ने हो भने यो क्षेत्र दुईवटा नगरपालिका (मध्यपुर थिमी र सूर्यविनायक) मा विभाजित छ।
सूर्यविनायक महेश बस्नेतको आफ्नै नगरपालिका हो। यहाँ एमालेको संगठन परम्परागत रूपमै बलियो छ।
वडा नं. ७ (गुण्डु) र वडा नं. ८ (सिपाडोल) मा महेश बस्नेतको व्यक्तिगत प्रभाव र एमालेको संगठन निकै कसिलो छ। यहाँबाट उनले ठूलो ‘लीड’ लिने अपेक्षा गरेका छन्।
बालकोट र कौशलटार (वडा नं. १, २ र ३) जस्ता सुगम र शहरी क्षेत्रमा बसोबास गर्ने नयाँ मतदाताहरूमा राजीव खत्री र रास्वपाको ‘क्रेज’ राम्रो छ। यहाँ एमालेको भोट काटिने डर छ।
मध्यपुर थिमी नगरपालिका मध्यपुर थिमीमा नेवार समुदायको बाहुल्यता छ र यहाँको मत सधैं निर्णायक हुन्छ।
निष्कर्ष:
अहिलेको अवस्थामा महेश बस्नेत र रास्वपाका उम्मेदवार बीच “काँडेतारको प्रतिस्पर्धा” हुने देखिन्छ। कांग्रेसले आफ्नो पकड जोगाउन नसकेमा यो क्षेत्रमा ‘नयाँ’ र ‘पुरानो’ शक्ति बीचको सिधा टक्कर हुनेछ। महेश बस्नेतका लागि यो चुनाव ‘गर या मर’ को स्थिति हो।
यहाँ नेपाली कांग्रेसका कविर राणाको पनि राम्रो पकड छ। तर, नेमकिपाले यहाँ उल्लेख्य मत ल्याउँछ।
मध्यपुर थिमीका युवाहरू जो ‘नयाँ अनुहार’ चाहन्छन्, उनीहरू राजीव खत्रीतर्फ ढल्किएका छन्। यदि राजीवले यहाँबाट कांग्रेस र नेमकिपाको भोटमा ठूलो खेल्न सके भने उनी विजयी हुने बाटो खुल्छ।
यदि महेश बस्नेतले सूर्यविनायकबाट ५ हजारभन्दा बढीको अग्रता लिन सकेनन् भने, मध्यपुर थिमीको मतले राजीव खत्रीलाई संसदको यात्रा गराउन सक्छ।
२०७९ को निर्वाचनमा महेश बस्नेत र दुर्लभ थापा बीचको हार-जीतको अन्तर मात्र ९५९ मत थियो। अहिले थपिएका ६ हजार मतले त्यो सानो अन्तरलाई सजिलै उलटपुलट पार्न सक्छ।
तसर्थ, राजीव खत्रीले कति नयाँ मत तान्छन् र महेश बस्नेतले कति पुरानो मत सुरक्षित राख्छन् भन्ने कुराले नै नतिजा तय गर्नेछ।



