फागुन २२,विराटनगर।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको मतगणना स्थलमा खटिएकै अवस्थामा हृदयघातका कारण निधन भएको छ ।
मोरङ निर्वाचन क्षेत्र नं. २ को मतगणना भइरहेको स्थानमा उपस्थित रहेका रेग्मी अचानक बेहोस भएर ढलेका थिए।उनलाई तत्कालै उपचारका लागि नजिकैको अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।

निर्वाचनको मतगणनामा पार्टीको तर्फबाट सक्रिय भूमिका निर्वाह गरिरहेका रेग्मीलाई कार्यस्थलमै असहज महसुस भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
मतगणना स्थलमा सुरक्षाकर्मी र अन्य दलका प्रतिनिधिहरूले उनलाई उद्धार गरी अस्पताल पठाएका थिए ।
रास्वपा मोरङले रेग्मीको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको बताएको छ । पार्टीका स्थानीय नेताहरूका अनुसार उनि मोरङमा रास्वपाको संगठन निर्माण र पछिल्लो निर्वाचन अभियानमा निकै सक्रिय थिए।
मृदुभाषी र मिलनसार स्वभावका रेग्मीको निधनले जिल्लास्थित राजनीतिक वृत्तमा शोक छाएको छ ।
मृतक रेग्मीको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको र परिवारजनलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ ।




