​फागुन २७,हेटौंडा।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा प्राप्त गरेको ऐतिहासिक सफलतालाई जेनजी आन्दोलनका घाईते युवा सञ्जीव सापकोटाले आफ्नो व्यक्तिगत पीडा र देशको भविष्यसँग जोडेर टिप्पणी गरेका छन्।

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको एउटा भयानक दुर्घटनामा आफ्नो एउटा हात गुमाएका सञ्जीवले रास्वपाको जितलाई ‘न्याय पाएको दिन’ को रूपमा अर्थ्याएका हुन्।

के भएको थियो भदौ २४ मा?
भदौ २३ गते कुशासन र ​भ्रष्टाचारविरुद्ध उत्रिएका २१ जना कलिला जेनजीहरुको प्रहरीको गोली प्रहारबाट ज्यान गएपछी भोलिपल्ट देशभर जनआक्रोशको लहर चल्यो।

सोही क्रममा कार्यसिलशिलामा झापा पुगेका काभ्रे, पनौतीका सापकोटा आन्दोलनका कारण बिर्तामोडमै रोकिए।

प्रदर्शनकारीहरूलाई पानी वितरण गरेर मानवीय सेवा गरिरहेका बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय,बिर्तामोड झापामा भएको आगजनी र त्यसपछि भएको सिलिन्डर विष्फोटमा उनी परेका थिए।
​विष्फोटमा उछिट्टिएको सिलिन्डरको टुक्राले उनको पाखुरामा गहिरो चोट लाग्यो। Major Vascular Part Damage भई इन्फेक्सन भएपछि चिकित्सकले उनको ज्यान जोगाउन हात काट्नै पर्ने निर्णय लिए।

झापाको बीएण्डसी र काठमाडौँको ट्रमा सेन्टरमा गरी उनले ५९ दिन अस्पतालको बेडमा सङ्घर्ष गर्दै बिताए। सो विष्फोटमा एक जनाको ज्यान गएको थियो भने सञ्जीवसहित ३ जनाले अङ्ग गुमाएका थिए।

​आफ्नो भविष्य र शरीरको एउटा अङ्ग देशका लागि बलिदान दिएका सञ्जीवले अहिले चुनावी नतिजा आएसँगै रास्वपा सभापति रवि लामिछानेसँग खिचिएको तस्विर सामाजिक सञ्जाल्मा साझा गर्दै भनेका छन्, “आज मेरो काटिएको हात अनि देशले न्याय पाएको दिन।”

यो अभिव्यक्तिले परिवर्तनका लागि रगत र अङ्ग दिएका युवाहरूको आवाज रास्वपा जस्ता नयाँ शक्तिहरूले बोक्नुपर्ने ठूलो जिम्मेवारी रहेको देखाउँछ।

​आफ्नो एउटा हात गुमाएर पनि देशको राजनीतिक परिवर्तनमा आशावादी देखिएका छन् सञ्जीव।

नयाँ राजनीतिक शक्तिप्रति उनको यो भरोसाले अहिले सामाजिक सञ्जालमा धेरैको ध्यान खिचेको छ। राज्यबाट उचित राहत र उपचारको पर्खाइमा रहेका विष्फोटका घाइतेहरूका लागि रास्वपाको उदय एउटा नयाँ आशाको किरण बनेको सञ्जीवको अभिव्यक्तिले संकेत गर्छ।

पुराना शक्तिहरूको विकल्पमा उदाएको रास्वपाले सञ्जीव जस्ता घाइते र आम नागरिकको भरोसालाई कसरी सम्बोधन गर्छ, त्यो भने आगामी दिनले नै देखाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय