चैत्र ६,हेटौंडा।वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मकवानपुरकी एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. १ बस्ने ३७ वर्षीया धनसानी गोले रहेकी छिन्।
विशाल के.सी.को जाहेरीका आधारमा नेपाल सरकार वादी भई चलाइएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, गोलेलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाउने तयारी भइरहेको छ।
आकर्षक तलब र सुविधाको प्रलोभन देखाई क्यानाडा लगायतका देशमा पठाइदिने भन्दै उनले अन्य व्यक्तिहरूलाई पनि ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
निज गोलेबाट विदेश पठाइदिन्छु भनी ठगिनुभएका कोही हुनुहुन्छ भने प्रमाणसहित तत्काल वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।



