चैत्र १३,हेटौंडा।मुलुककै महत्वपूर्ण सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगमा आजदेखि पुन: उत्पादन प्रक्रिया सुरु भएको छ। आज बिहान ४:३४ बजे उद्योगको ‘किल फायर’ (क्लिंकर उत्पादनका लागि भट्टी तताउने प्रक्रिया) गरिएसँगै उत्पादनको काम अघि बढेको हो।
लामो समयको प्रतीक्षा र विशेष तयारीपछि उद्योग पुनः सञ्चालनमा आएको हो। उद्योग सञ्चालनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश गौतम र उनको सचिवालयले निरन्तर चासो, चिन्ता र विशेष ‘फलोअप’ गर्दै आएको थियो।

उद्योगलाई गति दिन सांसद गौतमको सक्रियतासँगै उद्योगका महाप्रबन्धक (जिएम) शिवनारायण साह, प्राविधिक टोली तथा प्रशासनिक कर्मचारीहरूको सामूहिक प्रयासले यो सफलता मिलेको सांसद सचिवालय प्रमुख किशोर अर्यालले बताए।
उत्पादन प्रक्रिया सुरु भएसँगै उद्योगसँग सम्बन्धित सम्पूर्ण कर्मचारी, व्यवस्थापन पक्ष र सरोकारवालाहरूमा उत्साह छाएको छ।
उद्योग पुनः सञ्चालनमा आउनुलाई हेटौंडाको औद्योगिक साख जोगाउने र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।
उद्योग व्यवस्थापन र सरोकारवाला पक्षहरूले अब यो उद्योगलाई कुनै पनि अवरोधबिना निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
“अब यो उद्योग निरन्तर चल्नुपर्छ र यसले उत्पादन तथा रोजगारीलाई थप टेवा दिनुपर्छ,” सचिवालय प्रमुख अर्याल भन्छ्न्।




