चैत्र १४,हेटौंडा।आज बिहान करिब ११:२० बजेको समयमा मकवानपुरको भीमफेदी गाउँपालिका-६, एघारघुम्ती स्थित भीमफेदी-कुलेखानी-काठमाडौँ सडक खण्डमा एउटा हाईस गाडी दुर्घटना हुँदा ३ जना घाईते भएका छन्। घाईतेमध्ये एकको अवस्था गम्भीर छ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ७८७६ नम्बरको हाईस गाडीको अचानक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किन पुगेको थियो। गाडीमा चालकसहित जम्मा १० जना सवार थिए।
दुर्घटनामा घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ।
गाडी ब्रेक फेल भएको था पाएर गाडिबाट हाम फालेका उदयपुरको त्रियुगा न.पा.-११ का ८६ वर्षिय वृद्ध गोरे राईको टाउकोमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उनि गाडीबाट हाम फाल्ने क्रममा सोही गाडीको पछाडिको टायरले कुल्चिन पुगेको थियो।
त्यस्तै गोरेकी ६२ वर्षिया छोरी हर्कमाया राईको निधार र दाहिने हातमा चोट लागेको छ।उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
यस्तै त्रियुगा न.पा.-१० का अन्दाजी ४० वर्षिय शम्भु कटुवालको टाउकोमा चोट लागेको र उनको पनि अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
अन्य यात्रुहरू सामान्य चोटपटक पश्चात आफ्नै खुशीले उपचारका लागि गएका छन् भने गाडी चालक हाल सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इ.प्र.का. भीमफेदी बाट प्र.ना.नि. प्रेम तामाङको कमाण्डमा ६ जनाको टोली खटिएर उद्धार कार्य गरेको थियो। हाल सडक अवरोध हटेको छ र सवारी आवागमन सुचारु छ।



