चैत्र १६,काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतले अस्वीकार गरेको भनी सार्वजनिक भएका समाचारहरूको जाहेरीकर्ता शोभा पाठकले खण्डन गरेकी छिन्।
सोमबार राति फेसबुक लाइभमार्फत स्पष्टीकरण दिँदै पाठकले अदालतले पक्राउ अनुमति नदिएको नभई प्राविधिक कारणले मात्र आज प्रक्रिया अघि नबढेको दाबी गरेकी छिन्।
पाठकले भोलि (मंगलबार) ठिक २ बजे संवाद डबलीमा प्रेस मिट आयोजना गर्ने जानकारी दिएकी छिन्। सो क्रममा उनले जिल्ला अदालतको निर्णयको आधिकारिक कपी सार्वजनिक गर्ने बताएकी छिन्।
त्यस्तै,आज पक्राउ पुर्जी जारी नहुनुको मुख्य कारण ‘सकल फाइल’ (Original File) नहुनु रहेको उनले बताएकी छिन्। हाल उक्त मुद्दाको मिसिल उच्च अदालत पाटनमा रहेकाले प्रक्रियामा ढिलाइ भएको उनको भनाइ छ।
पाठकले मिसिल अदालतमा पेश भएपछि बस्नेत पक्राउ पर्ने विश्वास व्यक्त गरेकी छिन्। उनले मिडियामा आएका “अदालतले अनुमति दिन अस्विकार गर्यो” भन्ने समाचारहरू भ्रामक रहेको आरोप लगाएकी छिन्।
”सकल फाइल नभएको कारणले आज पक्राउ पुर्जी नआएको हो। मिसिल लिएर गएको खण्डमा पक्राउ हुने नै छ। जुन मिसिल अहिले उच्च अदालत पाटनमा छ,” पाठकले फेसबुक लाइभमा भनेकी छिन्।
केही महिनाअघि शोभा पाठकले नेता महेश बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी दिएकी थिइन्।
सोही जाहेरीका आधारमा प्रहरीले पक्राउ पुर्जीका लागि अदालतमा प्रक्रिया अघि बढाएको चर्चा भइरहँदा आज अदालतले अनुमति नदिएको खबर बाहिरिएको थियो।
सोही खबरको आधिकारिकता स्पष्ट पार्न पाठकले भोलि प्रमाणसहित उपस्थित हुने घोषणा गरेकी हुन्।



