चैत्र १८,काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले सरुवा र काजमा खटाएको कार्यक्षेत्रमा जान अस्विकार गर्ने कर्मचारीहरूलाई पदबाट हटेर ‘मार्ग प्रशस्त’ गर्न चेतावनी दिएकी छिन्।
मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेपछि कार्यस्थलमा जान आनाकानी गर्ने उपसचिव तथा सहसचिवहरूलाई लक्षित गर्दै मन्त्री रावलले यस्तो कडा टिप्पणी गरेकि हुन्।
”जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीको सामना गर्न पनि तयार छ,” मन्त्री रावलले भनिन्, “सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन। यदि कसैलाई जान इच्छा छैन भने उहाँहरूले मार्ग प्रशस्त गर्नुपर्छ, त्यहाँ अर्को व्यक्ति आउँछ।”
मन्त्रालयले पछिल्लो दुई दिनमा प्रशासनिक रिक्तता मेटाउन व्यापक हेरफेर गरेको छ। जसअनुसार सोमबार ६३ जना उपसचिव र मंगलबार ६ जना सहसचिवको सरुवा गरिएको छ।
विशेष गरी काठमाडौँ बाहिरका रिक्त नगरपालिका तथा उपमहानगरपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीहरू जान तयार नभएपछि मन्त्रालयले कठोर नीति अख्तियार गरेको हो।
हाल मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत विहीन रहेका नगर र उपमहानगरपालिकाहरूमा कर्मचारी पठाइसकेको छ।
अबको एक-दुई दिनभित्रै कर्मचारी अभाव झेलिरहेका गाउँपालिकाहरूमा समेत कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
स्थानीय तहमा प्रशासनिक नेतृत्व नहुँदा सेवा प्रवाह प्रभावित भएको गुनासो आएपछि सरकारले कर्मचारी व्यवस्थापनमा कडाइ गरेको हो।



