चैत्र २८, हेटौंडा। मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ स्थित छत्रेडाँडामा रहेको पाथीभरा दिव्य धाममा दुई दिने भव्य ‘पाथीभरा महोत्सव’ आयोजना हुने भएको छ।

ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको प्रतिमूर्तिका रूपमा यस स्थानमा शिला उत्पत्ति भएको गौरवमय दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको शुभ अवसरमा मन्दिर व्यवस्थापनले दोस्रो महोत्सवको तयारी गरेको हो।

मन्दिरका संरक्षक एवं पुजारी दीपक सिंह रुम्बाका अनुसार चैत्र ३० गते र वैशाख १ गते नयाँ वर्षको विशेष अवसर पारेर महोत्सव सञ्चालन गरिनेछ।

​यस दुई दिवसीय महोत्सवका दौरान विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, विशेष पूजापाठ, सामूहिक हवन र भजनकीर्तनका साथै ध्यान साधनाका कार्यक्रमहरू तय गरिएका छन्।

नयाँ वर्षको स्वागतार्थ आयोजना गरिने यस उत्सवमा दीपावलीका साथै विविध मनोरञ्जनात्मक गतिविधिहरू समेत समावेश गरिने आयोजक पक्षले जनाएको छ।

पुजारी रुम्बाले आफ्नो सपनामा देवीले बारम्बार दर्शन दिएपछि जमिन उत्खनन गर्दा पञ्चकन्या पाथीभरा भगवतीको शिला फेला परेको र सोही समयदेखि यहाँ धार्मिक गतिविधि बढेको बताए।

वि.सं. २०८१ सालको वैशाख १ गतेदेखि विधिवत् पूजा अर्चना सुरु गरिएको हुनाले हरेक नयाँ वर्षको दिनलाई धामको जन्मोत्सवका रूपमा मनाउने परम्परा सुरु गर्न लागिएको रुम्बाले बताए।

​पछिल्लो समय प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको केन्द्रका रूपमा विकास भइरहेको छत्रेडाँडामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दो छ।

महोत्सवको माध्यमबाट यस क्षेत्रको धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। यस वर्षको महोत्सवमा मकवानपुर लगायत आसपासका विभिन्न जिल्लाहरूबाट भक्तजन तथा दर्शनार्थीहरूको बाक्लो उपस्थिति रहने आयोजकको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय