चैत्र ३०, हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौँडा उपमहानगरपालिका ५ नम्बर वडा कमिटीले “विपक्षीलाई सहयोग गरेको र अनुशासन भङ्ग” गरेको आरोप लगाउँदै पार्टीबाट निष्कासित गर्ने निर्णय गरेपछी अभियन्ता समेत रहेका बिशालराज महतले कडा टिप्पणी गरेका छन्।
पार्टीको कारबाही लगत्तै महतले एक कडा प्रतिक्रिया सार्वजनिक गर्दै आफूमाथि गरिएको कारबाहीलाई ‘फरक मत राख्नेमाथिको प्रहार’ भनेका छन्।

पार्टीभित्रका अनियमितता, बेथिति र भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा आफूलाई ‘उपहार’ स्वरूप कारबाही दिइएको उनको तर्क छ।
”लोकतन्त्रको नारा उचाल्ने र वैकल्पिक राजनीति भन्दै सपनाको व्यापार गर्नेहरू जब व्यवहारमा उत्रिन्छन्, त्यही पुरानो रोग दोहोरिन्छ— सवाल नगर, नत्र गेट आउट।” महतले भनेका छन्।
उनले आफू कुनै पदको लोभमा नभई सेवाको भावनाले राजनीतिमा लागेको र पार्टीको कार्ड हेरेर कहिल्यै सामाजिक काम नगरेको बताएका छन्।
महतले रवि लामिछाने र बालेन शाहको लोकप्रियताको लहरमा ‘चिट्ठा परेर’ शक्तिमा आएका केही व्यक्तिहरूले शक्ति सन्तुलन गर्न नसक्दा यस्तो प्रतिशोधपूर्ण निर्णय लिएको आरोप पनि लगाएका छन्।
उनी थप्छ्न्; “स्यालहरू झुन्डमा कराउँछन्, बाज एक्लै उड्छ। पार्टीले दिएको होइन यो भावना, यो त म भित्रको बोध हो जो पार्टी जन्मिनु अघि पनि थियो र पछि पनि रहन्छ।”
वडा कमिटीले विशाल राज महत (सदस्यता नं. ०००००८५२६) र नवराज देवकोटा (सदस्यता नं. ००००१४८५९) लाई पार्टीको नीति, सिद्धान्त र विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै चैत्र २९ गते हिजो पार्टीको साधारण सदस्यसमेत नरहने गरि कार्वाही गर्ने सिफारिस गरेको छ।
वडा सभापति हेमन्त भट्टराईद्वारा हस्ताक्षरित पत्रमा महत र देवकोटाले पछिल्लो समय पार्टीलाई गम्भीर घात गरेको दाबी गरिएको छ।
पत्रमा उल्लेख भएअनुसार, उनीहरूले चुनावमा विपक्षीलाई सहयोग गरेको, पार्टीका गोप्य सूचना चुहाएको र अनुशासन भङ्ग गरी पार्टीको प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाइएको छ।



