चैत्र ३०, काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उठेका विभिन्न टिकाटिप्पणी र जिज्ञासाहरूको स्पष्टीकरण दिएका छन्।

आइतबार फेसबुकमार्फत एक सन्देश जारी गर्दै मन्त्री पोखरेलले आफू “सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण” विषयको विद्यार्थीसमेत भएकाले पारदर्शितालाई नै भ्रष्टाचार निवारणको मुख्य अस्त्र मान्ने बताएका छन्।

​उनले आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई बुवा, आमा र मावली पक्षको समेत विवरण सार्वजनिक गरेर पूर्ण पारदर्शिताको अभ्यास गरेको दाबी समेत गरेका छन्।

“प्राविधिक रूपमा व्यक्तिगत विवरण मात्र दिए पुग्ने भए पनि आफूले केही लुकाउनु नपर्ने भएकाले सबै पक्ष खुलाएको हुँ,” उनले उल्लेेेख गरेका छन्।

सम्पत्तिको स्रोतका बारेमा प्रष्ट पार्दै मन्त्री पोखरेलले आफ्नो बुवा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त अधिकारी भएको र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) वाशिङ्टन डी.सी. मा समेत उच्च ओहोदामा काम गरेको जानकारी दिएका छन्।

परिवारको सम्पूर्ण सम्पत्ति इमान्दार मेहनतको कमाइ भएको र सोही उच्च नैतिक मूल्यबाट आफू मार्गनिर्देशित भएको उनको भनाइ छ।

काठमाडौँको जग्गाको विषयमा चर्चा गर्दै मन्त्री पोखरेलले धेरै वर्ष पहिले सस्तोमा किनिएको जग्गाको मूल्य हाल ५० गुणाभन्दा बढीले वृद्धि हुनु बजारको स्वभाविक प्रक्रिया हो भन्दै उनले विवरणमा सरकारी मूल्यको सट्टा हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरेको प्रष्ट पारेका छन्।

​साथै, आफू सम्पन्न पृष्ठभूमिबाट आए पनि स्नातक तहदेखि नै अनलाइन र फुल-टाइम काम गरेर आत्मनिर्भर बनेको उनले खुलाएका छन्।

“विवरणमा देखिएको ऋणसमेत बुवा-आमाको सहयोगबिना आफ्नै कमाइबाट गाडी किन्नका लागि लिएको हुँ।”उनले भनेका छन्।

व्यक्तिगत सुरक्षाका कारण PAN नम्बर मात्र सार्वजनिक नगरेको बताउँदै उनले आगामी दिनमा पनि पारदर्शी आचरणलाई नै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय