बैशाख ४,हेटौंडा। मकवानपुर जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

​हेटौँडा उपमहानगरपालिका–१८ स्थित भक्तिचोकमा शुक्रबार दिउँसो दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक पुरुषको ज्यान गएको छ।

धरान–चतरा सडक खण्डमा हेटौँडाबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ३९ प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल दिउँसो करिब १२:३५ बजे ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३५/३६ वर्षीय पुरुषलाई हेटौँडा अस्पताल पुर्‍याइए पनि चिकित्सकले दिउँसो १:३० बजे मृत घोषणा गरेका थिए। मृतकको पहिचान खुल्न अझै बाँकी रहेको प्रहरीले जनाएको छ।

​सोही दुर्घटनामा ७२१९ नम्बरको मोटरसाइकलका चालक सूर्यमिणी खतिवडा गम्भीर घाइते भएका छन् भने अन्य घाइतेहरू अन्त बहादुर बि.सि., राजु थिङ र बालक प्रशान्त वाईवाको अवस्था मध्यम तथा सामान्य रहेको छ।

प्रहरी चौकी ठुलोदमारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो भने हाल दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन्।

​त्यस्तै, मकवानपुरकै बागमती गाउँपालिका–७ पाथिभरास्थित मदन भण्डारी लोकमार्गमा कारले रोकिराखेको अटोलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

सडकको बायाँ छेउमा रोकिएको ना २ ह ४५९२ नम्बरको अटोलाई हेटौँडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ३०८१ नम्बरको कारले ठक्कर दिई नालीमा खसाउँदा ४० वर्षीया चिनी माया रुम्बाको मृत्यु भएको हो।

गम्भीर घाइते भएकी रुम्बालाई हेटौँडा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

​दुर्घटनामा अटो चालक यमन राई र ११ वर्षीय बालक सुबिन पुलामी मगर घाइते भएका छन्, जसको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय फापरवारीले कार चालक सुजना लामालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ। दुवै घटनामा तीव्र गति र नियन्त्रण गुमाउनु मुख्य कारण हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय