जेठ २३, काठमाडौं। सामाजिक सञ्जालमा सक्रिय शोभा पाठकले नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतमाथि गम्भीर आरोप लगाउँदै आफ्नो जिउज्यानको सुरक्षाका लागि राज्यका निकायहरूसमक्ष गुहार मागेकी छिन्।
उनले फेसबुकमा एक लामो स्टाटस लेख्दै आफूमाथि पटक-पटक आक्रमण र मानसिक यातना हुँदा पनि प्रहरी प्रशासन मौन बसेको आरोप लगाएकी हुन्।

गएराति ‘नेपाली ब्रो’ उपनामले चिनिने कुमार थापाले आफ्नी श्रीमतीलाई रड प्रहार गरी हत्या गरेको विचलित पार्ने घटनाको प्रसङ्ग जोड्दै पाठकले आक्रोश पोखेकी छन्।
राज्यका निकायहरूले समयमै उजुरी नलिने र पीडितको सुनुवाइ नगर्ने प्रवृत्तिका कारण अपराधीहरूले प्रोत्साहन पाएको र आफू पनि त्यस्तै गम्भीर जोखिममा रहेको उनले उल्लेख गरेकी छिन्।
नेता बस्नेतले आफ्ना मानिस, आफन्त र श्रीमती समेतलाई प्रयोग गरेर आफूमाथि चार पटकसम्म भौतिक आक्रमण गराएको, जसमा आफ्नो खुट्टा भाँचिएको र घाँटीमा चोट लागेको पाठकको दाबी छ।
माइतीघरमा आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने आरोपीहरू र बस्नेतकी श्रीमतीलाई अदालतले छोटो अवधिमै धरौटीमा रिहा गरेपछि आफ्नो सुरक्षा खतरामा परेको र निरन्तर मानसिक दबाब खेपिरहेको पनि उनले बताएकी छन्। त्यस्तै,
जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरमा दर्जनौँ पटक शान्ति सुरक्षाको निवेदन दिँदा पनि विपक्षीलाई बोलाएर छानबिन समेत नगरिएको उनको आरोप छ।
”यदि एक नागरिकले पटक–पटक उजुरी र प्रमाण दिँदा पनि राज्यका निकायहरू अघि बढ्दैनन् भने नागरिकले सुरक्षा कसबाट खोज्ने? के प्रभावशाली व्यक्तिको नाम जोडिएकै कारण अनुसन्धान रोकिन्छ?” पाठकले प्रश्न गरेकी छन्।
उनले आफू कुनै सहानुभूति नभई केवल निष्पक्ष अनुसन्धान र न्यायको पर्खाइमा रहेको स्पष्ट पारेकी छन्।
साथै, आफूमाथि निरन्तर भइरहेको उत्पीडनका कारण कुनै पनि बेला अप्रिय घटना घट्न सक्ने संकेत गर्दै, यदि आफ्नो ज्यानमाथि क्षति पुगेमा त्यसको पूर्ण जिम्मेवारी राज्य र सम्बन्धित निकायले लिनुपर्ने चेतावनी समेत दिएकी छन्।




