भदौ २, हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ५ क्याम्पाडाँडा मत्स्यपालन केन्द्र नजिक कान्ति लोकपथ सडकखण्डमा भएको स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा काभ्रेको बनेपा-३ घर भई हाल हेटौंडा-६ चौघडा बस्ने अन्दाजी २५ वर्षिय आवास रन्जितकार छन्। उनी घटनास्थलमा जमेको नालाको पानीमा डुबेको अवस्थामा मृत फेला परेका थिए।उनले चलाएको स्कुटर पनि सोही स्थानमा रहेको थियो।
आज मंगलबार बिहान अन्दाजी ५ बजेर ३५ मिनेटको समयमा सानोपोखरातर्फबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको मधेस प्रदेश ०३-०२८ प ९७८९ नम्बरको स्कुटर अनियन्त्रित भई बाटोको छेउमा उत्तर-पूर्व तर्फ पानी जमेको नालामा खसेर दुर्घटना भएको थियो।
बिहान मर्निङवाक गर्न आएका स्थानीय मानिसहरूले दुर्घटना देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्ट्रोलमा तत्काल खबर गरेका थिए। खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट प्रहरी टोली खटिगई घटनास्थल सुरक्षित राखेको थियो। 
घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा (SOCO) सहितको टोली र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रमेश विष्टको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
त्यसपछि घटनाको थप गहिरो अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा अर्को प्रहरी टोली पनि खटिगई हाल यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाईएको छ।



