कर्तिक १५, निजगढ।बाराका एक प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न मूख्य योजनाकारसहित ५ जनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गरि हत्यामा संलग्नहरु सार्वजनिक गरेको हो।
प्रहरीले घटनाको मूख्य योजनाकार र सुचना आदानप्रदान गर्ने बाराको कलैया उपमहानगरपालिका वडा नं ६ मदर्शा टोल बस्ने वर्ष २२की राधा गुप्ता,खबर संकलन र आदानप्रदान गर्ने शुटर ग्याङका सदस्य भारतको मोतिहारी पूर्वी चम्पारण,थाना घोडासहन,गाउँ बहर्वाकाला वडा नं १२ बस्ने वर्ष २३ का अभिनवकुमार राजपूत,सोही स्थानकै जागिराकोटी गाउँ बस्ने वर्ष २३ का चन्दन कुमार, घटना घटाउन सहयोग गर्नेहरु बाराको कलैया उपमहानगरपालिका वडा नं ९ रामपुर बस्ने वर्ष २६ का रियाज अन्सारी र वडा नं ६ मदर्शा टोल बस्ने वर्ष ३४ का जामिल अख्तरलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

त्यसैगरी गोली प्रहार गर्ने व्यक्तिहरु भारतको मोतिहारी जिल्ला दर्पा थाना १,मुक्लहिया बस्ने वर्ष २५का सुजितकुमार सिंह,सोहिठाँउ बस्ने वर्ष २४ का चन्चल पाण्डे,वर्ष २२ का मनिषकुमार सहनी तथा वर्ष २० का कामेश्वर सहनीको नाम पनि प्रहरीले सार्वजनिक गरेको छ।उनिहरु भने फरार रहेका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको भएपनी ५ जनामात्र सार्वजनिक गरेको छ।अन्य पक्राउ परेकाहरुमाथी आवश्यक अनुसन्धान भैरहेकोले अहिले नै सार्वजनिक नगरेको प्रहरीको भनाई छ।

विवाहेत्तर प्रेम सम्बन्ध र रीसिवीका कारण स्वर्णकारको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
बारा प्रहरीका अनुसार घटनाको मूख्य योजनाकार रहेकी राधा गुप्ता शुरुमा भारत बस्ने मनोज गुप्तासँग प्रेम सम्बन्धमा रहेकि थिईन्।उनले पछि कलैयास्थित बाल एकता बोर्डिङ स्कुलमा लेखापालको काम गर्न थालेपछी सोही स्कुलका प्रधानाध्यापक स्वर्णकारसँग प्रेम सम्बन्ध गाँस्न पुगेकी थिईन्।मनोजले स्वर्णकारलाई आफ्नी प्रेमिका राधासँगको सम्बन्ध तोड्न बारम्बार दबाब दिँदै आएका थिए।राधाको प्रेममा परेका स्वर्णकारले सजिलै प्रेमिका छाड्न चाहेका थिएनन्। मनोजले गत साउन १३ र भदौ २८ गते पनि स्वर्णकारलाई गोली हान्ने प्रयास गरेका भएपनी सफल हुन नसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
मनोजले की आफुलाई की स्वर्णकारलाई मार्ने धम्की दिएपछी आफुले स्वर्णकारको हत्या गर्न सहयोग गरेको राधाले बयान दिएकी प्रहरीले जनाएको छ। मनोज र स्वर्णकार दुबै विवाहित रहेका प्रहरीले जनाएको छ।
सोमबार दिउँसो विद्यालय नजिकै सडकमा मोटरसाईकलमा खाजा लिएर घर फर्कदैँ गरेका स्वर्णकार माथी भारतिय नम्बर प्लेटका दुई मोटरसाइकलमा आएका चार जनाले गोली चलाएका थिए।घाँटी ,टाउको र छात्तिमा ४ राउन्ड गोली लागी ढलेका स्वर्णकारलाई स्थानियले उद्दार गरी कलैया अस्पताल लगेका थिए।त्यँहा प्राथमिक उपचारपछी थप उपचारका लागि वीरगंजस्थित मेडिसिटी वयोधा अस्पताल पुर्याईएका स्वर्णकारको त्यहिँ मृत्यु भएको थियो। घटनामा भारतिय पेशेवर शुटरहरु प्रयोग भएको प्रहरीले बताएको छ।बारामा यसअघि भएका हत्याकाण्डमा पनि यिनै शुटरहरु प्रयोग भएका बारा प्रहरीको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय