कार्तिक १६,निजगढ । सोमबार दिउँसो बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको गोली हानी हत्या भयो।हत्याको ४८ घण्टा नबित्दै बारा प्रहरीले हत्यामा संलग्न भनेर ५ जनालाई सार्वजनिक गर्यो।तर मृतक रुपेशको परिवारले भने प्रहरीले सार्वजनिक गरेको अभियुक्तहरु प्रती असहमति जनाएको छ। रुपेशका दाजु सुमोधकुमार सर्राफले बिज्ञप्ति नै जारी गरि प्रहरीले सार्वजनिक गरेको अभियुक्तहरु प्रती असहमति जनाएका हुन्।
सुमोधले रुपेशको हत्यामा हुँदै नभएका स्कुलका दुईजना कर्मचारीलाई अभियुक्त बनाएर वास्तविक हत्यारालाई उन्मुक्ती दिन लागेको आरोप लगाएका छन्। त्यसैगरी आफ्नो स्कुलमा ७ महिना अघि २ महिनामात्र काम गरेकी राधासँग रुपेशको नाम जोडेर आफ्नो परिवारको पनि बदनाम गरिएको उनको भनाई छ। राधालाई स्कुलबाट हटाएदेखी रुपेशको उनिसँग कुनै सम्बन्ध छैन तर प्रहरीले राधाकै योजनामा भाईको हत्या भएको बताएर घटनालाई अन्यत्रै मोड्न खोजिएको उनको दाबी छ।पक्राउ परेका दुईजना भारतीयका बारे भने सुमोधले केही प्रतिक्रिया दिएका छैनन्।
हत्यामा सहयोगी भुमिका खेलेको भन्दै पक्राउ परेका कलैयाका २ जना रुपेशकै स्कुलका सहकर्मी शिक्षक हरु हुन्।प्रहरीले हत्यामा सहयोगी भूमिका खेलेको भन्दै एकता बोर्डिङ स्कुलकै शिक्षक द्वय कलैया ९, रामपुरका २६ वर्षिय रियाज अन्सारी र वडा नं ६ का ३४ वर्षिय जामिल अख्तरलाई सार्वजनिक गरेको छ। गोली लागेर ढलेका रुपेशलाई घटनास्थलबाट उद्दार गरि मोटरसाइकलमा हाली अस्पताल पुर्याउने रियाज अन्सारी हुन्।

गोली लागि घाईते भएका रुपेशलाई अस्पताल लाँदै रियाज अन्सारी ।
मृतकका अर्का दाइ भोलाले रुपेशको उपचार चलिरहँदा दुबैजना आफुहरुसँगै रहेका बताएका छन् ‘उनिहरुको घटनामा कुनै संलग्नता छैन, तर अख्तर र अन्सारीलाई साँझ प्रहरीले पक्राउ गरेछ’भोलाले भने।
प्रहरीले भने त्यसअघि नै पक्राउ परेकी रुपेशकी पूर्व प्रेमिका भनिने राधा गुप्ताको साबिती बयानका आधारमा उनिहरुलाई पक्राउ गरेको जनाएको छ।
उता मृतक रुपेशका परिवारजनले भने प्रहरीले रुपेशको वास्तविक हत्यारा पक्राउ गरि सार्वजनिक नगरे प्रहरीविरुद्ध कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ।
उनिहरुले पचरौता नगरपालिकामा केही दिन अगाडि भएको घटनामा संलग्न व्यक्ती र मोटरसाइकल नै यो घटनामा प्रयोग भएको भनेर सत्यलाई ढाकछोप गर्न खोजिएको,दिनदहाडैको हत्याबाट सृजना हुनसक्ने अवस्था तथा सुरक्षा चुनौतीलाई थेग्न नसक्ने अवस्थाबाट मुक्ती पाउन घटनालाई अन्यत्र मोड्ने प्रयास भएको,बिना प्रमाण मृतकको चरीत्र हत्या गरेको,प्रहरी प्रशासनले शान्ती सुरक्षा कयम गर्न नसकेको प्रश्नबाट बच्न आमजनतालाई भ्रम सृजना गरेको,प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयको अभिव्यक्ति फरक,फरक भएको,लासको सद्गद गरे सबै कुरा सार्वजनिक गर्छौँ भनेर दबाब दिईएको तर पत्रकार सम्मेलनमा चित्तबुझ्दो प्रमाण पेश गर्न नसकेको लगायतका बुँदाहरुलेखी असहमती प्रकट गरेका छन्।साथै बिज्ञप्तिमा दोषी न उम्कुन ,निर्दोष नफसुन् भन्दै निष्पक्ष छानविन तथा न्यायको माग गरिएको छ।



