कार्तिक २१,निजगढ ।बाराको निजगढ नगरपालिकाले जाजरकोट भूकम्प प्रभावितहरुका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरप्रमुख सुरथ पुरीले एक बिज्ञप्ति जारी गरि भूकम्प प्रभावितहरुका लागि राहतस्वरुप उक्त रकम सहयोग गर्ने निर्णय भएको बताएका छन्।नगरप्रमुख पुरीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा ‘भूकम्पबाट प्रभावित नागरिकहरुलाई राहत तथा औषधोपचारकालागी नगरकार्यपालिकाको निर्णय बमोजिम कार्यालयको आव २०८०/८१ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रममा रहेको विपद् व्यवस्थापन शीर्षकमा बिनियोजित रकमबाट रु.५ लाख उपलब्ध गराईने ‘ भनिएको छ।
साथै जाजरकोटको नलगाढ नगरपालिकाककी उपप्रमुख सरिता सिंह सहित भूकम्पमा परि ज्यान गुमाउनेहरु प्रती नगरपालिकाले समवेदना व्यक्त गरेको छ भने घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
नगरपालिकाले भूकम्प पीडितलाई सबैले आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न पनि अनुरोध गरेको छ।
गत शुक्रबार मध्यराती जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युड्को भूकम्पले जाजरकोट र रुकुम पश्मिमलगायत आसपासका जिल्लामा ठूलो धनजनको क्षती पुर्याएको थियो।उक्त भूकम्प प्रभावितहरुको उद्घार,औषधोपचार ,राहत तथा पूनर्निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर बाटै सहयोग आउने क्रम जारी छ।



