फागुन१२,हेटौंडा। हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वतन्त्र गर्नुपर्ने भन्दै हेटौंडामा हस्ताक्षर अभियान शुरु गरिएको छ।
हेटौंडा अस्पताल बचाउ तथा सुधार संघर्ष समितिले आइतवारदेखि अस्पताल हाता बाहिर अभियानको थालनी गरेको हो।
सरकारी स्वामित्वमा रहेको अस्पताल प्रतिष्ठान मातहत रहँदा चलअचल सम्पत्ती अमुक संस्थाले कब्जा गर्ने भन्दै संघर्ष समितिले विभिन्न चरणमा विरोध कार्यक्रम गर्दै आएको छ।
८७ वर्षिय जेष्ठ नागरिक उमाकान्त गौतमको हस्ताक्षरबाट शुरु भएको कार्यक्रम फागुन १५ गतेसम्म रहने अभियानका संयोजक बिशालराज महतले बताए ।
कार्यक्रमलाई ऐक्यबद्धता जनाउदै विप्लव ‘सी’का मकवानपुर नेता राम सी , नेपाली काङ्ग्रेस नेता आनन्दराम पराजुली, अधिवक्ता केशव गौतम , हेटौंडा अस्पताल बिकास बोर्डका पुर्वअध्यक्ष प्रकाश पौडेल लगायतले हस्ताक्षर गरेका छन्।
नेकपा एमालेको सरकारको पालामा हतारहतार वागमती प्रदेशसभाबाट पास गराएर अस्पताललाई मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गाभिएको अस्पताल बचाउ अभियानका मुख्य अभियन्ता वरिष्ठ अधिवक्ता केशव गौतमले बताए ।
गौतमले प्रदेशसभाको निर्णयका विरुद्ध सर्वोच्चमा रिट दायर समेत गरेका छन्।
रिटमा नेपाल सरकार,वागमती प्रदेश सरकार र मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानसहित १२ निकायलाई विपक्षी बनाईएको छ।
रिट उपर सर्वोच्चमा एकचोटि बहस समेत भै कारण देखाउ आदेश दिँदा समेत सम्बन्धित पक्ष मौन रहेको उनले बताए।
विचाराधिन अवस्थामा रहेको मुद्दाको अर्को बहस चैत ७ गते हुने पनि उनले जानकारी दिए।
उक्त मुद्दामा अधिवक्ता गौतमले सरकारी सम्पत्तिलाई कुनै अमुक संस्थालाई दिनेगरी कानुन बनाएको र हेटौँडा अस्पतालको चल अचल सम्पत्ति कब्जा गर्ने काम भएको उल्लेख गरेका छन्।



