फागुन१३,हेटौंडा। वागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको बिष सेवनबाट निधन भएको छ ।
बिष सेवनबाट अचेत भेटिएका थापाको सोमवार काठमाडौँ, कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमवार आफ्ना साथीको कोठामा विषादी सेवन गरी अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल पुर्याइएपनि उनको उपचारको क्रममा साँझ ६ः३८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।
धादिङको धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित एक साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको पाईएको उपरीक्षक बोहराले जानकारी दिए ।
थापाको साथमा एक पेज लामो ‘सुसाईड नोट’ फेला परेको छ ।
नोटमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडेको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख रहेको उपरीक्षक बोहोराले जानकारी दिए ।
यस्तै मृतक थापाको साथमा भेटिएको नोटमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको विवरण रहेको मन्त्री श्रेष्ठको भनाइ छ।
गत शुक्रवार मन्त्री श्रेष्ठसँगै काठमाडौँ गएका उनी आइतवार आफ्नि छोरीको जन्मोत्सव मनाउन हेटौँडा नफर्की काठमाडौँमै बसेका थिए ।
सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सो सहकारीको समस्या मिलाउने विषयमा कुराकानी भएको भनिएको अडियो क्लिप सार्वजनिक भएको थियो।
सुमेरु सहकारीलाई मन्त्रालयले गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । प्रहरी परिसरले मृतक थापाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।



