असार२०,हेटौंडा।हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ। काभ्रेको रोशी गाउँपालिका घर भएकी निर्माण व्यवसायी मन्जु लामाले अध्यक्ष सिग्देललाई हिजो हेटौंडास्थित सार्वजनिकस्थलमै हातपात गरेकी हुन्।
हेटौँडा क्याम्पसअगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको विषयमा छलफल भइरहेका बेला सिग्देलमाथि लामाले हातपात गरेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। अध्यक्षमाथी हातपात गरेको आरोपमा लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सडक निर्माणको ढिलासुस्तीलाई लिएर विवाद सुरु भएको समयमा निर्माण व्यवसायी लामाले भिडियो खिच्न खोज्दा आफूले भिडियो खिच्न नदिएको विषयलाई लिएर आफूमाथि आक्रमण भएको वडाध्यक्ष सिग्देलले बताए।
लामो समयदेखि अलपत्र छाडिएको उक्त सडक निर्माणमा सहजीकरण गरिरहेको समयमा विवाद गर्दै ती महिलाले आफूमाथि हातपात गरेको वडाध्यक्ष सिग्देलको भनाई छ।
उक्त घटनापछि सडक निर्माण कार्य रोकिएको छ भने वडा कार्यालयले आजका लागि तय भएका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको जनाएको छ।
यस्तै, हेटौँडा उपमहानगरपालिकाले पनि जनप्रतिनिधिमाथि निरन्तर भइरहेको आक्रमणको घटनामा दोषीलाई कारवाही नभएको भन्दै विरोधस्वरुप आज सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगर प्रमुख मीनाकुमारी लामाले हिजो साँझ पत्रकारहरूसँग कुरा गर्दै नगरका वडाध्यक्षहरूको सुरक्षामा गम्भीर चुनौती देखिएकाले विरोधस्वरूप एकदिन पालिकाभित्रका सम्पूर्ण कामहरू बन्द गर्नुपरेको बताइन्।
उनले यसअघि १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक हमलामा संलग्नलाई समेत कारवाही नभएको भन्दै आक्रोश व्यक्त गरिन्।
गत असार ४ गते अध्यक्ष न्यौपानेलाई पनि उनकै कार्यकक्षमा अज्ञात समूहले आक्रमण गरेको थियो।
उक्त घटनामा संलग्नहरू पक्राउ नपर्दै अर्का वडाध्यक्षमाथि आक्रमण भएको भन्दै नगर प्रमुख लामाले घटनाका दोषीलाई कडा कारवाहीको माग गरेकी छिन्।



