मंसिर५,काठमाडौं।नेकपा एमालेले घोषणा गरेको नेसनल भोलेन्टियर्स फोर्स(एनभिएफ)को कमान्डर पुष्पराज श्रेष्ठविरुद्ध सातवटा फौजदारी मुद्दा लागीरहेको खुलासा भएको छ ।
शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेता भानुभक्त ढकालले सिन्धुलीका श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नेसनल एनभिएफ घोषणा गरेका थिए।
यसअघि एमालेको युवा दस्ता युथ फोर्स,युवासंघका पूर्वउपाध्यक्ष एवं एमाले वागमती प्रदेस समिति सदस्यसमेत रहेका श्रेष्ठलाई एनभिएफको जिम्मेवारी पनि दिईएको हो।
प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मको मुद्दा चलेको भेटिएको छ।
श्रेष्ठविरुद्ध ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र एउटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको प्रहरीले जनाएको छ। श्रेष्ठ २०६३ देखि अपराध कर्ममा संलग्न भएका हुन्।
२०७५ मा सार्वजनिक अपराध, २०७३ मा ज्यानमार्ने उद्योग,२०६३ मा ज्यान मार्ने उद्योग, २०६४ मा पनि ज्यान मार्ने उद्योग, २०६७ मा सार्वजनिक अपराध र २०७० मा अपराध तथा शरीर बन्धक मुद्दा लागेको थियो । त्यसबाहेक २०६५ मा श्रेष्ठमाथि ज्यानमार्ने उद्योग अन्तर्गत प्रहरीले मुद्दा चलाएको थियो ।



