चैत्र २,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) हरूका लागि विशेष अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आगामी भोलि चैत्र ३ र पर्सि ४ गते काठमाडौँमा उक्त प्रशिक्षण सञ्चालन हुन लागेको हो।

नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, पार्टीको नीति, र आगामी कार्यदिशाबारे प्रष्ट पार्न यो कार्यक्रम तय गरिएको बुझिएको छ।
पार्टी सचिवालयले निर्वाचित सांसदहरुलाई काठमाडौंमा तोकिएको स्थानमा भोलि बिहान ९:०० बजे नै उपस्थित हुन र सोही अनुसार तयारी अवस्थामा रहन सुचित गरेको छ।
”नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिकामा प्रभावकारी बनाउन र पार्टीको मूल मर्म अनुसार अघि बढ्न यो अभिमुखीकरणले महत्त्वपूर्ण भूमिका खेल्नेछ,” महामन्त्री बुर्लाकोटीद्वारा जारी सूचनामा उल्लेख छ।
पार्टीले यसअघि पनि आफ्ना जनप्रतिनिधिहरूलाई उत्तरदायी बनाउन विभिन्न प्रशिक्षणहरू सञ्चालन गर्दै आएको थियो।
यो दुई दिने प्रशिक्षणमा विषयविज्ञहरू र पार्टीका शीर्ष नेतृत्वले सहजीकरण गर्ने अपेक्षा गरिएको छ।




