जेठ २२,काठमाण्डौं। आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित एक समाचारलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन्।

​पत्रीकामा आज शुक्रबार  प्रकाशित  मुख्य पृष्ठमा “७७४ बीवाईडी नियन्त्रण : करिब २ अर्बको कमिसनमा अर्थमन्त्री वाग्ले फसेको आशंका” शीर्षकको समाचार छापिएको थियो।

उक्त समाचारमा नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकले भन्सार जाँचपास गराएका गाडीहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विषय र बजेट घोषणा अगावै गाडी भन्सार पास गराइएको दाबी गर्दै डा. वाग्लेमाथि गम्भीर नैतिक प्रश्न उठाइएको छ।

उक्त समाचार प्रकाशित भएपछि अर्थमन्त्री वाग्लेले प्रेस काउन्सिल नेपाल, सञ्चारग्राम, तिलगंगालाई सम्बोधन गर्दै एक लिखित निवेदन दर्ता गराएका छन् ।

निवेदनमा डा. वाग्लेले उक्त समाचार शतप्रतिशत झूटो, असत्य, काल्पनिक र आफ्नो मानहानी गर्ने एक मात्र नियतले प्रेरित भएर प्रकाशन गरिएको उल्लेख गरेका छन्।

उनले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ बमोजिम उक्त भ्रामक समाचारमाथि तत्काल छानबिन गरी पत्रिका र सम्बन्धित पक्षमाथि सख्त कारबाही गर्न माग गरेका छन्।

डा. वाग्लेले आफ्नो निवेदनको साथमा समाचार प्रकाशित पत्रिकाको छायाँकपी समेत संलग्न राखेका छन्।

​प्रेस काउन्सिलले यस विषयमा थप छानबिन अगाडि बढाउने बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय