जेठ ३१, काठमाडौं। झापा-५ को ऐतिहासिक चुनावी प्रतिस्पर्धामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै देशको कार्यकारी प्रमुख बनेका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को सामाजिक सञ्जालको पछिल्लो अभिव्यक्तिले पुनः एकपटक व्यापक बहस सिर्जना गरेको छ।
आईतबार साँझ ८ बजेतिर आफ्नो आधिकारिक फेसबुक पेजमा प्रधानमन्त्री साहले राखेको एउटा तस्बिर र त्यसको स्पष्टीकरणलाई लिएर सञ्चारमाध्यम र नागरिक स्तरमा मिश्रित प्रतिक्रिया आइरहेका छन्।

के थियो पोस्टमा?
प्रधानमन्त्री बालेनले चस्मा लगाएको आफ्नो ,गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेका थिए— “PM , HM , IM 🙂 Desh Banaune Toli 🙂”।
मुलुकको प्रधानमन्त्री,गृहमन्त्री जस्ता अत्यन्तै जिम्मेवार र संवेदनशील पदहरूलाई जोडेर गरिएको यो फेसबुक पोस्ट सार्वजनिक हुनासाथ यसको पक्ष र विपक्षमा टिप्पणीहरू सुरु भएका थिए।
उक्त पोस्टलाई लिएर आलोचना हुन थालेपछि प्रधानमन्त्री साहले त्यसको केही समयमै (करिब २ घण्टापछि) अर्को पोस्ट गर्दै आफ्नो बचाउ गरी उनले लेखेका छन्:
“हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन! दुख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु!”
सञ्चार र सामाजिक क्षेत्रमा दुई फरक मत
मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका र देशकै नेतृत्व गरिरहेका साहको यो शैलीलाई लिएर सञ्जालमा दुईवटा स्पष्ट दृष्टिकोण देखिएका छन्।
एक पक्षका अनुसार प्रधानमन्त्री भनेको सिंगो देशको अभिभावक र राज्यको सर्वोच्च कार्यकारी पद हो।
बिदाकै दिन भए पनि यस्ता हल्का टिप्पणी र ‘जिस्कने’ बानीले पदको गरिमा, गम्भीरता र शासकीय संवेदनशीलतालाई कमजोर बनाउने उनीहरूको तर्क छ।
जिम्मेवार पदमा बसेको व्यक्तिले सामाजिक सञ्जालमा परिपक्वता देखाउनुपर्ने आलोचकहरू बताउँछन्।
त्यस्तै, अर्कोतर्फ, उनका समर्थकहरूले यसलाई युवा नेतृत्वको नयाँ र खुल्ला कार्यशैलीका रूपमा व्याख्या गरेका छन्।
हप्ताभरि देश विकास र शासकीय सुधारमा अनवरत खटिने प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत अकाउन्टमा बिदाको दिन सामान्य ठट्टा वा रमाइलो गर्नुलाई ठुलो विषय बनाउनु नहुने उनीहरूको भनाइ छ।
सामाजिक सञ्जालको पोस्टभन्दा पनि सरकारले दिने परिणाम र काम मुख्य हुने तर्क समर्थकहरूको छ।
झापाको चुनावी परिणाममार्फत स्थापित भएका युवा प्रधानमन्त्री बालेनको यो ‘अनौपचारिक’ र आक्रामक सामाजिक सञ्जाल शैलीले आगामी दिनमा उनको कार्यसम्पादन र राजनीतिक यात्रामा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी नै छ।




