असार ७, निजगढ। बारा जिल्लाको कलैया उपमहानगरपालिका–६, पर्सा टोलमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको ज्यान गएको छ।
उनिहरुको स्थानिय दीपेन्द्र साहको हाँस पाल्ने पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो अन्दाजी १:३० बजेको समयमा स्थानीय विजय मण्डलकी ६ वर्षीया छोरी सृजनाकुमारी मण्डल र सञ्जय मण्डलकी ५ वर्षीया छोरी अन्जलीकुमारी मण्डल पोखरीमा डुबेर गम्भीर घाईते भएका थिए ।
तत्कालै उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिए पनि दिउँसो २:०० बजे चिकित्सकले दुवै बालिकालाई मृत घोषित गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट प्रहरी नायब निरीक्षक बिमलेश यादवको कमाण्डमा खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक राजाबाबु ठाकुरको नेतृत्वमा अपराध अनुसन्धानका लागि विशेषज्ञसहितको टोली घटनास्थल पुगेको थियो ।
अस्पतालमा राखिएका दुवै बालिकाको शव परीक्षणपश्चात हिजै बेलुकी ८:०० बजे परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।



