असार २४,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारस्थित पूर्व-पश्चिम सडकखण्डमा गएरती यात्रुवाहक बस दुर्घटनामा परेको छ।
वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको यात्रुबाहक बस राती ११:५ बजे अचानक स्टेरिङको टाईरेट (Tie-rod) भाँचिएपछि अनियन्त्रित भई सडकको दाहिनेतर्फ कोल्टो परेर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट ट्राफिकसहितको टोली तत्काल घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले स्थानीयवासीसँगको समन्वयमा बसमा सवार १६ जना यात्रुमध्ये घाइते भएका ५ जनाको सकुशल उद्धार गरी उपचारका लागि मनहरी अस्पताल पठाएको थियो।
दुर्घटनामा परेको बसलाई घटनास्थलबाट सडकको छेउमा सुरक्षित पार्किङ गरी राखिएको र सडकमा यातायात अवरोध नरहेको प्रहरीले जनाएको छ।
सकुशल रहेका अन्य यात्रुहरूलाई गन्तव्यतर्फ पठाइसकिएको छ भने मनहरी अस्पतालमा सामान्य उपचारपश्चात घाइतेहरूलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ।
गम्भीर घाइते हुनेमा सर्लाही निवासी ३९ वर्षीय बस चालक भीमबहादुर विक छन्, उनको टाउकोमा गम्भीर चोट लागेको छ।
त्यसैगरी, दुर्घटनामा चितवन भरतपुरका ३० वर्षीय संजय तामाङको दाहिने हातमा, पर्सा परवानीपुरका ५४ वर्षीय मोहम्मद आजादको निधार र बायाँ खुट्टामा, बारा देवतालका २३ वर्षीय राजकुमार रामको दाहिने हातमा र भारत मोतिहारीका २५ वर्षीय सुदिर कुमारको बायाँ हातमा चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।



