असार २४,हेटौंडा।हेटौंडामा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।

चार दिनअघि स्कुटरको ठक्करबाट घाइते भएका हेटौंडा उप-महानगरपालिका-४ का ४८ वर्षीय सन्तोष दासको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

असार २० गते दिउँसो करिब १:०० बजेको समयमा हेटौंडा-४, ओ-म्याक्स हल नजिकैको सडक खण्डमा उभिरहेका दासलाई कर्राबाट सिमाचौकतर्फ आउँदै गरेको बा.प्र. ०३-०४४ प २३९६ नम्बरको स्कुटरले ठक्कर दिएको थियो।

​स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका दासलाई स्थानीयले तत्काल उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याएका थिए।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल रिफर गरिएको थियो। अस्पतालमा उपचारकै क्रममा आज बिहान उनको निधन भएको प्रहरीले जनाएको छ।

स्कुटर चालक मकवानपुरगढी गाउँपालिका-६ घर भई हाल हेटौंडा-४ नेपाल चोकमा डेरा गरी बस्ने १८ वर्षीय मनिष गौतम रहेका छन्। घटनालगत्तै स्कुटर र चालक गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

​यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय