साउन २१,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन्। हिजो बुधबार राति करिब ११:०० बजेको समयमा कैलाश गाउँपालिका वडा नं. ४ सिसैटा बस्ने २५ वर्षीय प्रकाश तामाङ र सोही ठाउँका ३२ वर्षीय अशोक प्रजा कालिकाटारबाट देउतीसतर्फ आफ्नो घर जाँदै थिए।

सो क्रममा मनहरी खोला तर्ने बेला अचानक आएको बाढीले दुवै जनालाई बगाएको थियो।

​घटनालगत्तै २५ वर्षीय प्रकाश तामाङ भने खोलाबाट सकुशल बाहिर निस्कन सफल भएका छन् भने ३२ वर्षीय अशोक प्रजालाई बगाएर बेपत्ता बनाएको र हालसम्म उनी सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

​घटनाबारे आज बिहान ९:१५ बजे प्रहरी चौकी भार्तामा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भार्ता, प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीयबासीहरूसँग समन्वय गरी बेपत्ता प्रजाको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

​वर्षायाममा यस्ता दुर्घटनाबाट बच्न पानीको बहाव राम्ररी हेरेर मात्र खोलानाला तर्न, अँध्यारोमा खोलानालाको बाटो सकेसम्म प्रयोग नगर्न तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न सम्बद्ध सबैमा प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय