साउन २१, हेटौंडा। मकवानपुरको थाहा नगरपालिकामा प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले एक व्यक्तिको घरमा खानतलासी गर्दा अवैध हतियार फेला पारेको हो।
इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १:३० बजे थाहा नगरपालिका-११, तल्लो महाकालस्थित ४१ वर्षीय मोहनकुमार गोलेको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरभित्र लुकाई-छिपाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक एक थान फेला परेको हो।
प्रहरीले उक्त हतियार रितपूर्वक बरामद गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पालुङमा ल्याएर राखेको छ।
लागुऔषध मुद्दामा मुग्लिनमा थुनामा
हतियार बरामद गरिएका घरधनी मोहनकुमार गोले हाल प्रहरी नियन्त्रणमा रहेको खुलेको छ। उनी इलाका प्रहरी कार्यालय मुग्लिन, चितवनको क्षेत्रमा लागुऔषध (गाँजा) सहित फेला परेका थिए।
हाल उनीमाथि मुग्लिन प्रहरी कार्यालयमा लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको पालुङ प्रहरीले जनाएको छ।
अवैध हातहतियार फेला परेको घटनामा गोलेको संलग्नताका सम्बन्धमा दुवै प्रहरी कार्यालयले समन्वय गरी थप अनुसन्धान अघि बढाएका छन्।



