कार्तिक २०, निजगढ । महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गएराति एक घरमा डाँकाहरुको समूहले ५० लाखभन्दा बढीको धनमाल लुटपाट गरेका छन् ।
स्थानिय जयकिशोर चौधरीको घरमा गएराति साँढे १ बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच जना डाँकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौँको लुटपाट गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। डाँकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेर लुटपाट गरेका उपरीक्षक मल्लले बताए । मल्लका अनुसार डाँकाहरुले बाँकी कोठाभित्र रहेका दराज, बाक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन् ।
घरको पछाडिबाट घरभित्र छिरेका उनीहरुले भित्र छिर्ने वित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन् ।
डाँकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए।
डाकाहरुले चौधरीको घरबाट रू एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोन १ थान गरी ५० लाख बढी लुटपाट गरेका पीडित चौधरीले जानकारी दिए ।
अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठवटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताए ।
घटनाबारे प्रहरीलाई सोमबार बिहान मात्रै जानकारी भएको प्रहरी उपरीक्षक मल्लले बताए।
घटनाबारे पीडित परिवारलाई भेटेर सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको र थप अनुसन्धानका लागि विशेष प्रहरी परिचालन गरिने मल्लले बताएका छन्।



