जेठ ११,जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । शुक्रबार धनुषा जिल्ला अदालतका न्यायाधिश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।
यसअघि जेठ ९ गते बुधबार पनि धनुषा अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसपछि आज सिरोहियाको नागरिकता सम्बन्धमा अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले थप ५ दिनको समय माग गरेको थियो । तर जिल्ला अदालतले तीन दिन मात्रै हिरासतमा राख्न अनुमति दिएको हो ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा नागरिकता किर्ते गरेको अभियोगमा बैशाख १६ गते जाहेरी परेको थियो ।
सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले जेठ ८ गते अनुमति दिएपछि प्रहरीले सोही दिन उनलाई पक्राउ गरी धनुषा लगेको थियो ।



