मंसिर १६,काठमाडौ। नेपालमा एचाईभी संक्रमणदर ह्वात्तै घटेको छ। सन् २०२३ मा ९१ प्रतिशत  एचआइभीको सङ्क्रमण घटेको पाइएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको पाइएको हो ।
केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १ सय जना नयाँ सङ्क्रमित भेटिएका थिए ।

निर्देशक शर्माले सरकारले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याएकाले सर्न कम भएर संक्रमण घटेको बताएका छन्। उनका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि सेवन गरिरहेका छन् ।

औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएपनि अझै करिब पाँच हजार सङ्क्रमित उपचारभन्दा बाहिर रहेका उनको भनाई छ। यसो हुनुमा एचआइभी सङक्रमितमाथि अझै समाजमा लाञ्छना र भेद्भाव गरिनु प्रमुख कारण रहेको उनले बताए ।

तथ्यांकअनुसार सन् २०२३को अन्त्यसम्म नेपालमा ३० हजार ३ सय जना एचआइभी सङक्रमित रहेका छन् । नेपालमा एचआइभीबाट मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आएको छ । सन् २०२३ मा २३१ जनाको सङक्रमणका कारण मृत्यु भएको छ । सन् २०१० मा एक हजार सात सय जना व्यक्तिको एड्सको कारण मृत्यु भएको तथ्यांक छ।

यस्तै विश्वमा हाल आठ करोड ८४ लाख मानिस एचआइभी सङ्क्रमित भएका र चार करोड २३ लाख व्यक्तिको एड्सका कारण मृत्यु भइसकेको तथ्यांक छ। नेपालमा सन् १९९८ मा पहिलो पटक एचआइभी एड्स देखिएको थियो ।

नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशिने रहेका छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमणदर अरु जोखिम समूहभन्दा उच्च रहेको छ ।

नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ ।

आज आइतबार मंसिर १६ गते अर्थात डिसेम्बर १ तारिख `एड्स अन्त्यका लागी सबैको सुनिश्चितता गरौँ´ भन्ने नाराका साथ नेपालसहित विश्वभरि नै ३७औँ विश्व एड्स दिवस मनाइँदै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय