चैत्र१५,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले शुक्रवार काठमाण्डौमा राजावादीहरुले गरेको गतिविधिलाई अराजकताको संज्ञा दिएको छ।
रास्वपाले एक बिज्ञप्ति जारी गर्दै पूर्वराजा पक्षधरहरूबाट भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनी जस्ता अक्षम्य गतिविधिहरुको घोर भर्त्सना गरेको जनाएको हो।
“शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि पनि हो,लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई पूर्वराजा पक्षधरहरूबाट भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनी जस्ता अक्षम्य गतिविधिहरुको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्दछ।” रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।
रास्वपाले घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग पनि गरेको छ।
उसले आन्दोलन अराजक हुनसक्ने पूर्व सूचनाका बाबजुद पनि सरकार र गृह प्रशासन कत्ति पनि चिन्तित र तयार नरहेको भन्दै सरकारप्रती रोष पनि व्यक्त गर्दै आजको विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृह मन्त्रीले नै लिनुपर्ने पनि ठहर गरेको छ।
साथै एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्युप्रती गहिरो दुःख व्यक्त गर्दै आफ्ना पार्टिका प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडी जलाइएको घटनाको पनि रास्वपाले निन्दा गरेको छ।



