बैशाख ८, हेटौंडा।मकवानपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नं. ९ च्याँउच्याँउ बस्ने ३५ वर्षीय लाक्पा भोलन रहेका छन्।

आज मंगलबार दिउँसो करिब १:५० बजेको समयमा भोलन आफ्नी १० वर्षीया भतिजीलाई साथमा लिएर बकैया गाउँपालिका वडा नं. ८ र ३ को सिमानामा पर्ने बकैया खोलामा पुगेका थिए।
प्रहरीका अनुसार भतिजीलाई खोलाको किनारमा सुरक्षित राखेर पौडी खेल्न भनेर पानीमा पसेका उनी पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी दिउँसो २:३० बजे प्राप्त हुनासाथ प्रहरी चौकी हात्तीसुँडेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी र स्थानीयको सहयोगमा उनको शव खोलाबाट निकालिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।




