बैशाख ८, निजगढ । नेकपा (एमाले) निजगढ नगर कमिटीले नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ वर्ष पुगेको अवसरमा भोलि वैशाख ९ गते विशेष सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ।
निजगढ नगरपालिका वडा नम्बर १३ मा रहेको पर्यटकीय तथा धार्मिक स्थल शक्ति मन्दिर परिसरमा एमालेले बृहत सफाई अभियान चलाउन लागेको हो।
पर्यटकीय क्षेत्रको रूपमा चिनिएको शक्ति खोला किनारमा विभिन्न समयमा हुने वनभोज तथा धार्मिक कार्यक्रमका कारण थुप्रिएका प्लास्टिक, बोतल र अन्य फोहोरहरू संकलन गरी उचित व्यवस्थापन गरिने नगर कमिटी अध्यक्ष तिलक घलानले जानकारी दिएका छन्।
भोलि दिउँसो १ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा निजगढभरिका २०० भन्दा बढी नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने घलानले बताए।
ब्यानरमा अटेन अध्यक्ष ओलीको तस्बिर
यस कार्यक्रमका लागि पार्टीले सार्वजनिक गरेको आधिकारिक ब्यानरले भने अहिले नयाँ राजनीतिक चर्चा सिर्जना गरिदिएको छ।
विगतमा पार्टीका हरेक स-साना कार्यक्रमका ब्यानरमा समेत अनिवार्य मानिने अध्यक्ष केपी शर्मा ओलीको तस्बिर यसपटक भने हटाइएको पाइएको छ।
नगर कमिटीले सार्वजनिक गरेको ब्यानरमा अध्यक्ष ओलीको तस्बिर कतै देखिँदैन, बरु संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीलाई मात्र सम्मानका साथ सजाइएको छ।
ब्यानरमा एकातिर “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ” भन्ने कडा नारा राखिनु र अर्कोतिर वर्तमान अध्यक्षकै फोटो गायब हुनुले पार्टीभित्रको शक्ति सन्तुलनमा केन्द्रबाटै ठूलो फेरबदल आएको सनसनीपूर्ण संकेत गरेको छ।
एकातिर पर्यटकीय क्षेत्रको सफाई गरेर सामाजिक उत्तरदायित्व पूरा गर्ने लक्ष्य राखिएको छ भने अर्कोतिर आफ्नै शक्तिशाली अध्यक्षको तस्बिर बिनाको ब्यानर प्रदर्शन गरेर एमालेले ‘व्यक्ति केन्द्रित राजनीति’ बाट मुक्त हुन खोजेको सन्देश दिएको पनि भान हुन्छ ।
मन्दिरको फोहोर सफाईसँगै आफ्नै ब्यानरबाट नेतृत्वको तस्बिर समेत ‘सफाई’ हुनुले बारा एमालेमा मात्र नभई केन्द्रमै नयाँ बहस र चर्चा सुरु भएको छ।



