बैशाख ११,काठमाडौं।काठमाडौं उपत्यकाभित्रका अव्यवस्थित बस्तीहरू हटाउन सरकारले ठोस प्रक्रिया अघि बढाएको छ।

सहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा आज मन्त्रालयमा बसेको सरोकारवाला निकायहरूको बैठकले भोलि बैशाख १२ र  पर्सि १३ गते बस्ती खाली गराउने र संरचनाहरू भत्काउने निर्णय गरेको हो।

​बैठकले गरेका प्रमुख निर्णयहरू यस प्रकार छन्:

​१. सूचना र भौतिक तयारी:

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना बमोजिम बस्ती खाली गर्न माइकिङ र प्रचार-प्रसार गरिनेछ। संरचना भत्काउन आवश्यक पर्ने मेसिनरी उपकरण र जनशक्तिको प्रबन्ध सम्बन्धित निकायहरूले तत्काल गर्नेछन्।

​२. मानवीय सहायता र उद्धार:

बस्ती खाली गराउने क्रममा अशक्त, अपाङ्ग, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई प्राथमिकताका साथ उद्धार गरिनेछ। उनीहरूलाई सुरक्षित आश्रयस्थल वा अस्पतालसम्म पुर्‍याउन स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स र मेडिकल टिम तथा गृह मन्त्रालयले सवारी साधनको व्यवस्था गर्नेछन्।

​३. आश्रयस्थल र व्यवस्थापन:

  • ​तत्कालिन व्यवस्था: विस्थापितहरूलाई लगिने पहिलो आश्रयस्थलमा खाना, खाजा र पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्नेछ।
  • ​अल्पकालीन व्यवस्था: सहरी विकास मन्त्रालयले तोकिएका स्थानमा अल्पकालीन बसोबास र दैनिक उपभोग्य सामग्रीको आपूर्ति मिलाउनेछ।

​४. पहिचान र प्रमाणीकरण:

आश्रयस्थलमा रहेका प्रत्येक परिवारको फोटोसहितको परिचयपत्र वितरण गरिनेछ। ‘भेरिफिकेशन’ हुन नसकेका व्यक्तिहरूलाई क्रमशः बिदा गरिने र यो कार्य सहरी विकास तथा भूमि व्यवस्था मन्त्रालयले गर्ने निर्णय भएको छ।

​५. पूर्वाधार निर्माण:

बस्ती खाली भएलगत्तै भत्किएका संरचना हटाउने र सडकको ‘ट्र्याक’ खोल्ने कार्य भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तत्काल सुरु गर्नेछन्।

​६. उच्चस्तरीय केन्द्रीय समन्वय समिति:

कामलाई प्रभावकारी बनाउन सहरी विकास मन्त्रीको संयोजकत्वमा काठमाडौं महानगर प्रमुख, गृह, स्वास्थ्य, सहरी विकास, र भूमि व्यवस्था मन्त्रालयका सचिवहरू तथा प्रधानमन्त्री कार्यालयका सचिव सम्मिलित एक ‘केन्द्रीय समन्वय समिति’ गठन गरिएको छ। यस समितिको मातहतमा रहेर काम गर्न प्रत्येक निकायले आफ्नै ‘एक्सन टिम’ समेत बनाउनुपर्नेछ।

​बस्ती खाली गर्ने र सुरक्षाकर्मी परिचालनका क्रममा आइपर्ने समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत आवश्यक समन्वय गरिने बैठकले तय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय