असार २९, काठमाडौं। पछिल्ला केही दिनयता नेपालमा बढ्दो क्रममा रहेको आत्मदाहको शृङ्खलाले आम जनमानसमा त्रास र निराशा पैदा गरिरहेको छ।
पछिल्लो दुई दिनको अन्तरालमा मात्रै देशका विभिन्न स्थानमा तीनजना व्यक्तिले आत्मदाहको बाटो रोजेपछि यसले सामाजिक तथा मनोवैज्ञानिक बहसलाई तीव्र बनाएको छ।

यसै निराशाजनक परिस्थितिमा मदन पुरस्कार विजेता एवं प्रख्यात साहित्यकार झमककुमारी घिमिरेले यस्तो हृदयविदारक र प्रेरणादायी सन्देश प्रवाह गरेकि छिन्।
आफ्नो शारीरिक अशक्तताका बाबजुद सङ्घर्षपूर्ण जीवन बाँचिरहेकी घिमिरेले आत्मदाहजस्तो चरम र गलत कदम नउठाउन सबैमा अपिल गरेकि छिन्।
साहित्यकार घिमिरेले आफ्नो स्वास्थ्य अवस्थाको कठोर यथार्थ प्रस्तुत गर्दै भनेकि छिन् ; ”मेरो अवस्था हेर्दा न बोली आउँछ, न हात चल्छ, न हिड्ने सामर्थ्य छ, न शरीर सिधा छ, न टाउको नै सिधा छ। त्यसमाथि अहिले स्नायुको समस्याले समातिरहेको छ। सोच्नुहोस् मेरो जीवन कति कष्टपूर्ण छ?”
आफ्नो जीवनको असहजतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै घिमिरेले आत्महत्याको बाटो रोज्नेहरूलाई प्रश्न गरेकि छिन्।”तपाईँहरू हर कुरामा सामर्थ्यवान हुनुहुन्छ र पनि किन अकालमा मृत्युवरण गरिरहनुभएको छ? जीवनमा जसका पनि अप्ठ्यारो मोडहरू आउँछन्, त्यो कुरा सामना गर्न नसकेर भाग्ने?”
घिमिरेले सबैलाई आफ्नो जीवनप्रति माया गर्न र नकारात्मक विचारबाट टाढा रहन आग्रह गरेकी छिन्।
उनी भन्छिन्; जीवन बहुमूल्य छ, कुनै पनि परिस्थितिमा गलत निर्णय लिनुहुँदैन,दिमागभरी नकारात्मक कुरा नपाल्नुहोस्, साना-साना खुसीमा रमाउन सिक्नुहोस्,जीवन कुनै न कुनै दिन आफैँ समाप्त हुन्छ, त्यसैले प्राकृतिक अन्त्यअगावै हतार गरेर जीवन सिध्याउने काम नगरौँ।”
आत्मदाह: एक गम्भीर सामाजिक समस्या
विगत केही समययता आर्थिक संकट, पारिवारिक बेमेल र मानसिक स्वास्थ्यको चरम विन्दुमा पुगेका व्यक्तिहरूबाट भइरहेका यस्ता घटनाले नेपाली समाजमा मनोवैज्ञानिक परामर्श र सामाजिक समर्थनको खाँचो रहेको देखाउँछन्।
मनोविद्हरूका अनुसार, यस्ता घटनाहरू व्यक्तिगत कमजोरी मात्र नभएर सामाजिक र आर्थिक दवाबको परिणति हुन्।
साहित्यकार घिमिरेको यो भनाइले निराशाको भुमरीमा फसेका हजारौँ व्यक्तिहरूलाई बाँच्ने नयाँ ऊर्जा र आशा जगाउने विश्वास गर्न सकिन्छ।




