साउन १०, हेटौंडा।जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइनमार्फत ठगी कार्यमा संलग्न रहेको आरोपमा ३ भारतीय नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले दिएको जानकारी अनुसार, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित बास्तोला होटलबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको पटना जिल्ला बस्ने २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज र होटल सञ्चालक मकवानपुर हेटौँडा १० का ३७ वर्षीय दिपक बास्तोला रहेका छन्।
कसरी भइरहेको थियो ठगी?
भारतीय नागरिकहरूलाई विभिन्न प्रलोभन देखाएर अनलाइनमार्फत ठगी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गत साउन ७ गते उनीहरूलाई होटलबाट नियन्त्रणमा लिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले मोबाइल डिभाइसहरूमा टेलिग्राम, ह्वाट्सएप लगायतका एप्समार्फत “ग्रुप क्रिएट”गरी अवैध रूपमा रकमको कारोबार गर्दै आएको खुलेको हो।
पक्राउ परेकाहरूमाथि जिल्ला अदालतबाट ‘अनलाइन ठगी सम्बन्धि कसुर’ मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
ठगीमा संलग्नहरूले प्रयोग गरेका शङ्कास्पद युजर आईडीहरूको प्रयोग गरी ठगिएका हरूलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
ठगीमा प्रयोग भएका युजर आईडीहरू निम्न छन्:👇️
- हवाट्सएप (WhatsApp): Loan And Finance Services नाम र मोबाइल नम्बर +९१ ८९६९०५६१५७
- हवाट्सएप (WhatsApp): Zi Qing र मोबाइल नम्बर +85246299829
- टेलिग्राम (Telegram): DUKEPAY नामको युजरनेम (CA-@royaltoking, +85246299829, duke_202020 समूहको लिङ्क: [https://t.me/+OvXrNr2qy85kZWY1](https://t.me/+OvXrNr2qy85kZWY1))



