साउन २१, काभ्रेपलान्चोक। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेसीका एक वृद्ध दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका छन्।

उनिहरु हिजो बुधबार साँझ तिर भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट नदीमा हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार हिजो साँझ ५ बजेको समयमा दोलालघाटको भित्री बजारमा ६८ वर्षीय केदारनाथ पराजुलीले अशक्त तथा क्यान्सरपीडित ६७ वर्षीया पत्नी तीलकुमारी पराजुलीलाई पिठ्युँमा बोकेर हतारहतार सुनकोशी किनारतर्फ गएका थिए।

त्यसको केही समयपछि मन्दिर नजिकबाट उनीहरूले नदीमा फाल हालेको खैलाबैला मच्चिएको थियो ।

​घटनालगत्तै पाँचखाल र दोलालघाटबाट खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोलीले र्‍याफ्टिङ बोटसहित नदी आसपास क्षेत्रमा खोजी तीव्र बनाए पनि हालसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन ।

​​वडाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार पराजुली दम्पती मध्यम आय भएको परिवारका हुन् । उनीहरूसँगै छोरा, बुहारी, एक नाती र एक नातिनी बस्दै आएका थिए ।तीन छोरीको भने विवाह भइसकेको छ।

​छोरा खेतीकिसानी गर्छन् भने बुहारी गाउँकै विद्यालयमा शिक्षिका छिन् । परिवारमा कुनै किसिमको घरायसी कलह अहिलेसम्म नसुनेको वडाध्यक्ष पौडेल बताउँछन्।

​पत्नी तीलकुमारी पछिल्लो २१ महिनादेखि ‘बोन म्यारो क्यान्सर’ बाट पीडित थिइन् । रोग महँगो र लगातार उपचार गर्नुपर्ने प्रकृतिको भएकाले सोही आर्थिक तथा शारीरिक भारका कारण उनीहरूले यो चरम कदम उठाएको आशङ्का गरिएको छ ।

​घटनाबारे थप अनुसन्धान तथा खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय