साउन २२,हेटौंडा।मकवानपुर आज फरक-फरक स्थानमा दुईवटा शव फेला परेका छन् ।
मनहरी खोलाले बगाएको अवस्थामा एक पुरुष मृत फेला परेका छन् भने हेटौंडाको एक सामुदायिक वनमा बोरामा बाँधेर खाल्डोमा गाडिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।
बिहान करिब ०८:३५ बजेको समयमा मनहरी गाउँपालिका वडा नं. ०७ स्थित मनहरी पुलदेखि दक्षिणतर्फ मनहरी खोलाकोबीच भागमा पानीको बहाव कम भएको स्थानमा एक पुरुषको शव फेला परेको स्थानीयमार्फत प्रहरीलाई खबर पुगेको थियो ।
खबर हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक सूर्य प्रकाश भट्टको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिई सुरक्षा दिएको थियो ।
बिहान ११:३० बजे मृतकका माइला भाइ सुजन प्रजा चेपाङले आएर शवको सनाखत गरेका छन् ।
सनाखत भए अनुसार मृतक जिल्ला मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ४ सिसैटा बस्ने अन्दाजी ३२ वर्षका अशोक प्रजा हुन् । उनी गत साउन २० गते राति ११:०० बजेको समयमा कालिटारबाट देउतिसस्थित आफ्नो घरतर्फ जाने क्रममा मनहरी खोला तर्ने बेला बेपत्ता भएका थिए । उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
यसैबीच, आजै दिउँसो करिब पौने २ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. १५ सेल्फी रोडस्थित सामुदायिक वनमा अर्को रहस्यमय घटना बाहिर आएको छ ।
स्थानिय व्यक्तिहरू च्याउ टिप्न जाने क्रममा सेतो बोरामा बाँधेर खाल्डोमा फालेको अवस्थामा एक महिलाको शव देखेर इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ प्र.नि. किशोर आचार्यको कमाण्डमा प्रहरी टोली खटिई घटनास्थल सुरक्षित बनाएको थियो ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको SOCO टोली परिचालन गरिएको छ ।
बोरा खोली हेर्दा हालसम्म नाम, थर र वतन नखुलेकी अन्दाजी ३०/३२ वर्षकी महिलाको शव रहेको खुलेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त शव परीक्षण तथा अनुसन्धानका लागि हेटौंडा अस्पताल ल्याइएको छ र दुवै घटनाबारे प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाईएको छ।



