माघ १०,हेटौंडा ।सशस्त्र प्रहरी बलको २३ औँ स्थापना दिवसको अवसरमा १४ नम्बर गण हेड्क्वार्टर हेटौंडा , मकवानपुरले विविध सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रम संचालन गरेको छ। दिवसको अवसरमा गणले साताव्यापीरुपमा वृक्षरोपण,सरसफाई,रक्तदान तथा विविध साँस्कृतिक कार्यक्रम संचालन गरेको गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीले जानकारी दिए।सो अवसरमा हेटौंडा ८ स्थित कर्रा खोला किनारामा एभोकाडो लगायतका फलफुल वृक्षरोपण, हेटौंडा १ स्थित थानाभर्याङमा रहेको पाथिभारा मन्दिरमा सरसफाई तथा अमर सशस्त्र प्रहरी हवल्दार माधवप्रसाद सापकोटाको स्मृतिमा चौतारा निर्माण गरिएको उपरीक्षक कार्कीले बताए।





गणले कार्यक्रमको अन्तिम दिन मंगलबार बिहान गणमा कार्यरत सशस्त्र प्रहरीहरुद्धारा रक्तदान र साँझ विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो।
अर्ध सैनिक निकायको रुपमा रहेको सशस्त्र प्रहरी बल शान्ति सुरक्षा ,कानुन तथा सुव्यवस्था कायम, नागरिकको जिउधन, सिमा सुरक्षा तथा औद्योगिक क्षेत्रको सुरक्षार्थ परिचालीत छ।
२०५७ सालमा माओवादी युद्ध चर्किँदै गएपछी थप सुरक्षा शक्तीको आवश्यक्ता बोधगरि सरकारले सशस्त्र प्रहरी बलको स्थापना गरेको हो। प्रारम्भमा नेपाली सेनाबाट १ सय २० तथा नेपाल प्रहरीबाट करीब १० हजार फौज गाभिएर सशस्त्र प्रहरी बल गठन भएको थियो।
सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको २०५९ साल माघ १२ गते प्रातःभ्रमणमा निस्किएका बेला ललितपुरको बागडोलमा बिद्रोही माओवादीले गोली हानी हत्या गरेका थिए।
श्रीमती नुडुप श्रेष्ठ तथा अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीको पनि सोही दिन माओवादीले हत्या गरेका थिए।





