असार २०,हेटौंडा । यसवर्षको मनसुन शुरु भए यता मकवानपुरमा जंगली च्याउको सेवनबाट ३ जनाको मृत्यु भएको छ। जंगली च्याउ सेवनबाट राक्सिराङ,कैलाश र भीमफेदी गाउँपालिकाका ३७ जना बिरामी परेकामा ३ जनाले ज्यान गुमाएका हुन्।
च्याउ सेवनबाट मृत्यु हुनेमा राक्सिराङ-७ दुगुवाङ बस्ने बर्ष ५५ को बलबहादुर प्रजा,कैलाश-९ नामटार बस्ने बर्ष २५ की निरुमाया रुम्बा र सोही ठाउँका ४ वर्षिय बालक दिपेश लामा छन्।
असार ३ देखी २० गतेको अवधिमा जिल्लाका विभिन्न स्थानमा विषादीयुक्त जंगली च्याउ खाँदा प्रभावित ३७ जना मध्ये ३ जनाको मृत्यु भएको,२६ जना अस्पतालबाट डिस्चार्ज भएको र ८ जना हालसम्म पनि उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हिजो बुधबार भिमफेदी-६ उर्लाघारीका एकै परिवारका ७ जना जंगली च्याउ खाँदा बिरामी परेका थिए।उनीहरुको हेटौंडा र चितवनस्थित सरकारी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।



