मंसिर २७,निजगढ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शैक्षिक संस्थाहरुमा दलिय भागवण्डामा नियुक्ति हुन नहुने बताएको छ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित एक बिज्ञप्ति जारी गर्दै रास्वपाले उत्कृष्टता र क्षमताका आधारमा नियुक्ति हुनुपर्ने बताएको हो।
“रास्वपाले पार्टी स्थापनाकालदेखिनै शैक्षिक संस्थाहरूमा दलीय राजनीतिक भागबण्डाको प्रतिवाद गर्दै उत्कृष्टता र क्षमताका आधारमा नियुक्ति हुनुपर्ने विषयलाई स्थापित गर्न निरन्तर रूपमा लागिरहेको सर्वविदितै छ।”,बिज्ञप्ति भनिएको छ।

बिज्ञप्तिमा शैक्षिक नियुक्तिमा राजनीतिकरण गर्नु शैक्षिक संस्थाहरू विरुद्धको अक्षम्य अपराध हो भनेको छ।
योग्यता र क्षमताभन्दा दलगत भागबन्डाको आधारमा विश्वविद्यालय चलाउँदा देशको शिक्षा क्षेत्रको साख निरन्तर खस्कँदो अवस्थामा रहेको र शैक्षिक क्षेत्र राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको उल्लेख छ।
त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका नियुक्तिका सन्दर्भमा केही राजनीतिक दल, तिनका भ्रातृसंगठन र गलत तत्त्वहरुबाट दलीय हस्तक्षेपको हर्कत गरिँदै आएको भन्दै रास्वपाले यस्तो गतिविधिप्रति विमत्ति रहेको जनाएको छ ।
राजनीतिक हस्तक्षेपमा आधारित नियुक्तिहरू नगर्न, नगराउन रास्वपा प्रतिबद्ध रहेको तथा योग्यताको कदर हुने प्रणालीको पक्षमा निरन्तर लड्ने उसले बताएको छ।
अहिले त्रिभुवन विश्वविद्यालयले स्थापित गर्न खोजेको उत्कृष्टताको अभ्यासलाई संस्थागत गर्ने प्रयासमा रास्वपाको पूर्ण समर्थन रहने जनाउँदै सरकार र सत्तारुढ दलबाट उत्कृष्टताको पद्धतिलाई निरुत्साहित गर्ने हर्कतप्रति सधैं आपत्ति जनाउने बताएको छ।
विश्वविद्यालयमा दलीय राजनीति स्वीकार्य नभएको जनाउँदै सम्पूर्ण विद्यार्थी, प्राध्यापक, नागरिक समाज र सरोकारवालाहरुलाई नेपालको शैक्षिक क्षेत्रमा दलीय राजनीतिकरण विरुद्ध एकजुटभई आआफ्नो ठाउँबाट योगदान दिन उसले आह्वान गरेको छ।




