पुस १८, काठमाडौ। चर्चित बाल गायक सचिन परियारको दूर्लभ रोगका कारण हृदयघात भएर मृत्यु भएको बताईएको छ। सचिनलाई १० लाख जनसंख्या मध्ये तीन जनालाई लाग्ने रोग लागेको त्रीवी शिक्षण अस्पतालले जनाएको छ।
१५ वर्षिय परियारको विहिवार बिहान १० बजेर ४० मिनेट जाँदा उपचारकै क्रममा मृत्यु भएको थियो।

अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार सचिन ५ वर्षभन्दा बढी समयदेखि शिक्षण अस्पतालमा पटकपटक भर्ना भएका थिए। उनलाई जन्मजात थर्ड भेन्ट्रिकुलर सिस्ट थियो।
याे दुर्लभ ब्रेन ट्युमर हो, जुन १० लाख जनसंख्यामध्ये तीन जनामा मात्र हुन्छ । जसको उपचारका लागि न्युरोसर्जरी गरिएको थियो। उनमा सेन्ट्रल डाइबेटिज इन्सिपिडस पनि थियो। यसैले उनलाई दैनिक डेस्मोप्रेसिन लिन सल्लाह दिइएको थियो। तर यो पालना गरिएन।
“यसपटक भने उनलाई तीव्र ज्वरो र सास फेर्न गाह्रो हुने भएपछि यही पुस १३ गते अस्पताल भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखेर बचाउने सक्दो प्रयास गरिएको थियो। तर अस्पताल भर्ना भएको ५ दिनका दिन आज (बिहीबार) उनको फोक्सोबाट अचानक गम्भीर रूपमा रक्तस्राव सुरु भयो, जसले गर्दा उनलाई अक्सिजन अपुग भयो र अचानक हृदयाघात भयो।” बिज्ञप्तिमा भनिएको छ।




