असार १,काठमाडौं। नेपाल र मित्रराष्ट्र जर्मनीबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको विकासमा सहकार्य सुदृढ बनाउने उद्देश्यले जर्मनी सरकारको उच्च प्रतिनिधिमण्डलले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग शिष्टाचार भेटवार्ता गरेको छ।
मन्त्रालयमा आज भएको भेटघाटमा जर्मनीको ‘संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय’ (BMZ) अन्तर्गत दक्षिण एसिया डिभिजन एवं विकास प्रमुख बार्बरा शेफर र नेपालका लागि जर्मनीका राजदूत महामहिम उडो भोल्जको उपस्थिति रहेको थियो।

भेटघाटमा नेपालमा कार्यरत जर्मन विकास साझेदार संस्थाहरू KfW, GIZ तथा PTB का नेपाल प्रमुख एवं प्रतिनिधिहरूको समेत सहभागिता थियो।
द्विपक्षीय सम्बन्ध र सहयोगमाथि छलफल
भेटका क्रममा नेपाल र जर्मनीबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धका विविध आयामबारे विस्तृत छलफल भएको थियो।
विशेष गरी जर्मनी सरकारले नेपालको स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको सुदृढीकरण तथा विभिन्न विकास परियोजनाहरूमार्फत पुर्याउँदै आएको सहयोगको समीक्षा र प्रशंसा गरिएको थियो।
मन्त्री मेहताको प्रतिबद्धता
जर्मन प्रतिनिधिमण्डललाई स्वागत गर्दै मन्त्री निशा मेहताले नेपालको स्वास्थ्य क्षेत्रको स्तरोन्नतिमा जर्मनीले पुर्याएको निरन्तर सहयोग र साझेदारीप्रति आभार व्यक्त गरिन्।
”नेपाल सरकारको प्राथमिकतामा रहेका क्षेत्रहरूमा विकास साझेदारहरूको सहयोगले नागरिक स्तरसम्म सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्नेछ,” मन्त्री मेहताले भनिन्।
सो अवसरमा जर्मन प्रतिनिधिमण्डलका तर्फबाट प्रमुख बार्बरा शेफरले नेपालको विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएका थिए।
उनले नेपाल सरकारका वर्तमान आवश्यकता र प्राथमिकताप्राप्त क्षेत्रहरूलाई मध्यनजर गर्दै आगामी दिनमा पनि जर्मनी सरकारको सहयोग, साझेदारी र साथ निरन्तर रहने विश्वास दिलाए।
मन्त्रालयले सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उक्त भेटघाटले दुई देशबीचको दशकौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिएको जनाएको छ।




