साउन ५, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका क्षेत्रमा करेन्ट लगाएर नदी तथा खोलाहरूमा माछा मार्ने क्रम अत्यधिक रूपमा बढेको छ।

यसरी अवैध रूपमा समातिएका दैनिक २ देखि ३ क्विन्टलसम्म माछा बजारमा खुल्लमखुल्ला बिक्री–वितरण भइरहेकोप्रति स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

​अवैध रूपमा करेन्टको प्रयोग गरी माछा मार्दा जलचर प्राणीको विनाश हुनुका साथै समग्र जैविक विविधता र प्राकृतिक स्रोतमाथि गम्भीर असर परेको जानकारहरु बताउँछ्न्।

साथै, यस किसिमका गतिविधिले कानुनी शासनको उपहास गरिरहेको भन्दै सम्बन्धित निकायले तुरुन्त प्रभावकारी अनुगमन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग जनस्तरबाट उठिरहेको छ।

​यसको अलावा मनहरीमा बिना लाइसेन्स सञ्चालित क्रसर उद्योगहरू र नदीजन्य स्रोतको व्यवस्थापनलाई लिएर पनि वर्षौंदेखि प्रश्न उठ्दै आएको छ।

नियमनकारी निकायको कमजोर अनुगमन र आपसी ‘सेटिङ’का कारण प्राकृतिक स्रोतको मनोमानी दोहन भइरहेको जनगुनासो छ।
स्थानीय बासिन्दाहरूले यी सम्पूर्ण अनियमितताबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

दीर्घकालीन समाधानका लागि प्रविधिमैत्री र वैधानिक व्यवस्थापनको खाँचो
​समस्याको समाधान केवल कारबाहीमा मात्र सीमित नभई नदीजन्य स्रोत र बगर क्षेत्रको वैधानिक तथा वैज्ञानिक व्यवस्थापन हुनुपर्नेमा स्थानियको जोड छ।

​बगर तथा नदीजन्य स्रोतका सम्भावित क्षेत्रहरूमा GPS, CCTV र डिजिटल अनुगमन प्रणाली लागू गर्नुपर्ने।

यसप्रकारको प्रणालीले पारदर्शिता बढाउने, अवैध गतिविधि नियन्त्रण हुने र राज्यले पाउनुपर्ने करोडौँको राजस्व समयमै राज्यकोषमा जम्मा हुने।

हरेक क्षेत्रलाई वैधानिक र व्यवस्थित बनाउन सके स्थानीय युवाहरूले स्वदेशमै रोजगारीका अवसर पाउने, गलत तथा अवैध गतिविधितर्फ आकर्षित हुनुपर्ने बाध्यता हट्ने र समग्र गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासको ठोस आधार तयार हुने पनि स्थानीयको निर्क्यौल छ।

तसर्थ,​स्थानीय स्रोत, साधन र वातावरणको संरक्षण गर्दै दिगो विकासतर्फ अगाडि बढ्न जनप्रतिनिधि, प्रशासन र सरोकारवाला निकायले तत्काल गम्भीर पहल लिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय