भदौ २, हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ जुरीखेतमा स्कारपियो गाडी दुर्घटना हुँदा उच्च अदालत वीरगन्ज पर्साका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन्।
काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको उक्त गाडी सडकबाट ५०/६० मिटर तल खसेर दुर्घटनामा परेको हो।
आज मंगलबार बिहान अन्दाजी ७:०० बजेको समयमा भएको उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिकसहित ७ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएर उद्धार कार्य गरेको थियो।
दुर्घटनालगत्तै घाइते सबै ६ जनालाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको थियो।
घाइतेमध्ये रजिस्ट्रारकी श्रीमतीको अवस्था गम्भीर रहेको छ भने अन्य ५ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक उपचारपश्चात बिहान ०९:०० बजेको समयमा चालक र रजिस्ट्रारलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो भने बाँकी ४ जना घाइतेलाई बिहान ०९:१५ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको छ।
दुर्घटनामा घाइते भएका ६ जनाको विवरण:
१. छुनिलाल चौधरी: गाडी चालक, जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं. ८ बस्ने, अन्दाजी वर्ष ३२ (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम)।
२. गोकर्ण डाँगी: मुख्य न्यायाधीश, उच्च अदालत वीरगन्ज, जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बस्ने, अन्दाजी वर्ष ५७ (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम)।
३. तारादत्त बडु: रजिस्ट्रार, जिल्ला बैतडी दशरथचन्द नगरपालिका वडा नं. ७ सुर्काल बस्ने, अन्दाजी वर्ष ५१ (शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम)।
४. लक्ष्मी बडु: रजिस्ट्रार तारादत्त बडुकी श्रीमती, अन्दाजी वर्ष ४९ (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर)।
५. रितेन्द्र बडु: तारादत्त बडुका छोरा, अन्दाजी वर्ष २५ (टाउकोमा चोट, अवस्था मध्यम)।
६. रिता बडु: रजिस्ट्रारकी दिदी, अन्दाजी वर्ष ३१ (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम)।
थप अनुसन्धान र वर्तमान अवस्था
काठमाडौंबाट वीरगन्ज जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट ५०/६० मिटर तल खोल्सामा खसेको थियो।
घटनाको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोली समेत घटनास्थलमा खटी गएको थियो।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



