भदौ २, पोखरा। पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलो पटक पीएचडी (विद्यावारिधि) तहको अध्ययन तथा अनुसन्धान कार्यक्रम सञ्चालनमा ल्याएको छ।
विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायअन्तर्गत सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा उक्त कार्यक्रमका लागि आवेदन आह्वान गरिएको हो।
अनुसन्धानमा विशेष रुचि र बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारहरूले यो कार्यक्रमका लागि आवेदन दिन सक्नेछन्।
त्यसका लागि तोकिएको आवेदन शुल्क ३ हजार रुपैयाँ तिरेर इच्छुक उम्मेदवारहरूले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति २०८३ भदौ ९ गते शुक्रबारसम्म निर्धारण गरिएको छ।
यसका लागि आगामी २०८३ भदौ १२ गते सोमबार बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा प्रवेश परीक्षा सञ्चालन हुनेछ।
व्यक्तिगत अन्तर्वार्ताको मिति तथा समय भने प्रवेश परीक्षाकै दिन घोषणा गरिने विश्वविद्यालयले जनाएको छ।



